• २०८३ मङ्सिर १० गते बुधवार

युक्रेनसँगको युद्धमा पाँच लाख रुसी सेना मारिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ९, काठमाडौं । युक्रेनसँगको युद्धमा हालसम्म पाँच लाख रुसी सेना मारिएको तथ्य सार्वजनिक भएको छ । रुस आफैले पनि आफ्ना पाँच लाख सैनिक मारिएको स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले रुसी सरकारी तथ्यांकको विश्लेषण गर्दै युद्ध सुरु भएदेखि सन् २०२६ सेप्टेम्बरसम्म कम्तीमा चार लाख ९० हजार ३ सय ३४ रुसी सैनिक मारिएको जनाएको छ ।

बेलारुसको ह्याकर समूह साइबर पार्टिजन्स बीवाई र युक्रेनको साइलेन्ट क्रोले गरेको साइबर आक्रमणबाट प्राप्त रुसी तथ्यांकमा बीबीसी रुसीले सन् २०२१ देखि सन् २०२६ सेप्टेम्बरसम्मका १ करोड १० लाखभन्दा बढी मृत्युदर्ताका अभिलेख फेला पारेको थियो । ती अभिलेखलाई स्वतन्त्र रुसी सञ्चारमाध्यम मिडियाजोनासँग मिलेर विश्लेषण गर्दा युद्धमा मारिएका सैनिकको पुष्टि भएको विवरणमध्ये ९० प्रतिशतसँग मेल खाएको बताइएको छ ।

युद्धका कारण रुसको मृत्युदरमा समेत ठूलो परिवर्तन आएको तथ्यांकले देखाएको छ । सन् २०२५ मा मृत्यु भएका १८ देखि २४ वर्ष उमेर समूहका रुसीमध्ये ६५ प्रतिशत युद्धमा मारिएका थिए । त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहका ५९ प्रतिशतको मृत्यु युद्धमा भएको थियो । ४५ देखि ५४ वर्ष उमेर समूहमा भने युद्धभन्दा मुटुसम्बन्धी रोगका कारण बढीको मृत्यु भएको छ ।

युक्रेनका साना बस्ती कब्जा गर्न भएका लडाइँमा पनि ठूलो संख्यामा रुसी सैनिक मारिएको तथ्यांकमा उल्लेख छ । युद्धअघि कुल १२ हजार जनसंख्या रहेका १० वटा गाउँ नियन्त्रणमा लिन भएको लडाइँमा करिब २० हजार रुसी सैनिकको मृत्यु भएको थियो ।

डोनेट्स्क क्षेत्रको बाख्मुत सहरको दक्षिणमा रहेको आन्द्रीइभ्का गाउँ कब्जा गर्न भएको लडाइँमा मात्रै ११ सय २२ रुसी सैनिक मारिएका थिए । युद्धअघि उक्त गाउँको जनसंख्या ७४ थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनमै सकिने अनुमान गरेको युद्ध लगभग पाँच वर्ष पुग्न लागेको छ। तथ्यांकले युक्रेनका विशेष क्षेत्रहरूमा भएको क्षतिको भयावह अवस्था पनि उजागर गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस