जेठ १५, रोल्पा । सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले १३ औं गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्नुभएको छ । अध्यक्ष घर्तीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको हो ।
गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिए अनुसार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ : गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने सम्पूर्ण सहिदहरुप्रति हार्दीक श्रद्धाञ्जली अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाहरुको स्वास्थ्य लाभको कामना र उहाँहरुको योगदान प्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै यस अवसरमा सवै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा राष्ट्रिय एकता प्रवद्र्धन र सम्बर्धन गराउँदै राष्ट्र निर्माणमा एक जुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
‘विकासका लागि हाम्रो प्रस्थान विन्दू सवैलाई खाद्य व्यवस्था, सुरक्षित आवास, एक घर एक रोजगार, माध्यामिक शिक्षा सम्म अनिवार्य शिक्षा, स्वास्थ्य एवं सुरक्षा हो’ । ‘जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प मैले लिएका छु । यस संकल्पलाई सार्थक बनाउने स्थानीय सरकारको दृढ उद्देश्य भएको हुँदा त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायमा संलग्न सुनिलस्मृति गाउँपालिका वासिहरुको बलियो साथ रहनेमा मैले विश्वास लिएको छु ।’ ‘गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रकृयाको सम्मान गर्न समेत सिकाएको छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली भएको हुँदा गणतन्त्रको सवैले रक्षा गर्न एकजुट भई लाग्नुपर्ने छ ।
गणतन्त्रको जुन विश्वव्यापी मूल्यमान्याता रहेको छ, सो अनुरुपको मर्म, भावना, उद्देश्य अनुरुप समय सापेक्ष गतिशीलता प्रदान गर्दै अगाडि बढ्नु हामी सबैको दायित्व हो । गणतन्त्रको मूल्य मान्यता विपरित कोहि पनि पन्छिन मिल्दैन, कोही आफ्नो दायित्वबाट पन्छिन खोजेमा त्यो देश र जनता प्रतिको विश्वासघात हुने छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रमोर्चामा खटिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सरोकारवालाहरु प्रति उच्च प्रशंसा गर्दछु साथै कोभिड–१९ बाट मृत्यूहुने ४ (चार) जनासहित विश्वका विभिन्न क्षेत्रमा ज्यान गुमाउनुहुने नेपालीहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै नेपाललगाएत विभिन्न देशमा कोभिड–१९ संक्रमित भई उपचारमा रहनुभएकाहरुको स्वास्थ्य लाभको कामना गर्दै यस ऐतिहासिक दिवशको अवसरमा सवैको सुस्वास्थ्य र प्रगतिको कामना गर्दछु ।