असोज ९, कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गा नगरपालिका-१ बुचीस्थित बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी छ । प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका-८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले आज दिउँसो बुड्ची र बोडगाउँको सिमाना जोड्ने बाणगङ्गा नदीको पक्की पुलको उत्तरी किनारबाट हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जनाको टोली उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो । खोजीका क्रममा नदी किनारबाट पुरुषले लगाउने कपडा तथा चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले बताउनुभयो ।
उहाँका अनुसार बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा नेपाल प्रहरीको थप टोलीसमेत परिचालन गरिएको छ । प्रहरीले नदीमा खोजी कार्य जारी राखेको जनाएको छ ।