असोज ९,नवलपरासी । पश्चिम नवलपरासीमा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकहरूलाई स्वीकृत विपद् प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण र तत्काल उद्धारका लागि सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना देखाएसँगै जिल्ला प्रशासन कार्यालय, पश्चिम नवलपरासीले विपद् व्यवस्थापनका लागि पूर्वतयारी तीव्र पारेको छ । जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै सम्पूर्ण जिल्लावासी तथा सरोकारवाला निकायहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयबाट जारी सुचना अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने हुँदा पूर्वतयारी र सतर्कतालाई तीव्रता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै स्थानीय तहका जनप्रतिनिधि र स्वयंसेवकहरूलाई जुनसुकै समयमा उद्धार तथा राहतमा खटिन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको छ ।
विपद्को जोखिम बढेसँगै नदी तटीय क्षेत्र तथा चुरे भूभाग नजिकका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । कुनैपनि आपत्कालीन घटना घटेमा तत्काल उद्धार टोली परिचालन हुने गरी जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र र सुरक्षा निकायका संयन्त्रहरू सक्रिय पारिएको छ ।