दक्षिण एशियाको राजनीति पछिल्ला केही वर्षमा असाध्यै तीव्र गतिमा बदलिएको छ। पहिले सडक आन्दोलन सीमित भूगोलमा हुन्थ्यो, अहिले सामाजिक सञ्जालले आन्दोलनलाई केही घण्टामै विश्वव्यापी बनाइदिएको छ। यही सन्दर्भमा भारतमा अहिले चर्चामा आएको “ककरोज मुभमेन्ट” ले नयाँ बहस जन्माएको छ। यो केवल एउटा व्यङ्ग्यात्मक शब्द होइन, बेरोजगारी, असन्तुष्टि, राजनीतिक मोहभंग र डिजिटल पुस्ताको विद्रोही चेतनाको प्रतीक बन्दै गएको छ।

गत मे १५ मा भारतका प्रधानन्यायाधीश Surya Kant ले युवाहरुको बेरोजगारी र सामाजिक सञ्जालको सक्रियतालाई संकेत गर्दै “काम छैन, सञ्जालमा ककरोज जस्तै कराइरहेका छन्” भन्ने आशयको अभिव्यक्ति दिएको चर्चा भयो। त्यसपछि अमेरिकामा पब्लिक रिलेसनमा एमए अध्ययनरत भारतीय विद्यार्थी Abhijeet Dipke ले इन्स्टाग्राम र ट्विटरमार्फत यसको प्रतिवाद गरे। उनले “हामी युवा ककरोज होइनौं, न त परजीवी टूल्स” भन्दै युवालाई एक हुन आह्वान गरे।
त्यसपछि “Cockroach Movement” नामले सामाजिक सञ्जालमा अभियान सुरु भयो। केही दिनमै लाखौं युवाहरु त्यसमा जोडिन थाले। “ककरोज जनता दल” जस्तो राजनीतिक नामसमेत अगाडि ल्याइयो। यसले भारत सरकारलाई समेत झस्काएको चर्चा चल्न थाल्यो। ट्विटरमा नियन्त्रण, प्रतिबन्ध वा कडाइका विषयले थप विवाद सिर्जना गर्यो।
यो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ — के आजका युवा केवल रोजगारी खोजिरहेका छन्, कि उनीहरू सम्मान, पहिचान र निर्णय प्रक्रियामा सहभागिता पनि खोजिरहेका छन्?
विश्वमा यस्ता आन्दोलन नयाँ होइनन्। केही वर्षअघि Sri Lanka मा आर्थिक संकट, भ्रष्टाचार र परिवारवादविरुद्ध विशाल जनआन्दोलन भयो। राष्ट्रपति भवनसम्म जनता पुगे, सत्ता परिवर्तन भयो। त्यस्तै Bangladesh मा पनि विद्यार्थी र युवाको आन्दोलनले सरकारमाथि ठूलो दबाब सिर्जना गरेको थियो।
नेपालमा पनि पछिल्लो समय “जेन्जी आन्दोलन”, स्वतन्त्र उम्मेदवारको उदय, नयाँ दलको प्रवेश र परम्परागत राजनीतिक शक्तिप्रतिको असन्तोष देखिएको छ। विशेषगरी सामाजिक सञ्जालमार्फत युवा पुस्ता राजनीतिक रूपमा सक्रिय बन्दै गएको छ। काठमाडौंदेखि गाउँसम्म पुराना दलप्रति प्रश्न उठ्ने क्रम बढेको छ।
भारतमा सुरु भएको भनिएको “ककरोज मुभमेन्ट” ले पनि त्यही मनोविज्ञान बोकेको देखिन्छ—“हामीलाई बेवास्ता नगर।” बेरोजगारी, महँगी, अवसरको असमानता, डिजिटल निगरानी, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण र राजनीतिक अहंकारविरुद्ध युवा पुस्ता आक्रोशित हुँदै गएको संकेत यसले दिन्छ।
भारत विश्वकै ठूलो युवा जनसंख्या भएको देश हो। यदि त्यहाँ युवाहरु ठूलो मात्रामा डिजिटल आन्दोलनमा संगठित भए भने यसको प्रभाव केवल भारतभित्र सीमित रहने छैन। दक्षिण एशियाको राजनीति, अर्थतन्त्र र कूटनीतिमा यसको असर देखिन सक्छ। विशेषगरी नेपालजस्ता छिमेकी देशमा यसको प्रत्यक्ष प्रभाव पर्न सक्छ, किनकि नेपालका लाखौं युवा भारतीय राजनीति, मिडिया र सामाजिक सञ्जालबाट प्रभावित हुन्छन्।
नेपाल–भारत सम्बन्धमा पनि यसले अप्रत्यक्ष तनाव ल्याउन सक्छ। यदि भारतभित्र राष्ट्रवाद, सामाजिक विभाजन वा डिजिटल नियन्त्रणको राजनीति बढ्यो भने त्यसको असर सीमा, व्यापार, रोजगारी र जनस्तरको सम्बन्धमा पर्न सक्छ। नेपालका युवा पनि त्यसबाट प्रभावित भई आफ्नै शैलीको डिजिटल आन्दोलनतर्फ उन्मुख हुन सक्छन्।
तर एउटा कुरा बुझ्न जरुरी छ—हरेक आन्दोलन सकारात्मक दिशामा जान्छ भन्ने निश्चित हुँदैन। सामाजिक सञ्जालले चेतना पनि फैलाउँछ, तर भ्रम, उत्तेजना र भीड मनोविज्ञान पनि फैलाउन सक्छ। त्यसैले आन्दोलनलाई केवल रिसको विस्फोट नभई स्पष्ट एजेन्डा, लोकतान्त्रिक मूल्य र जिम्मेवार नेतृत्वसँग जोड्न आवश्यक हुन्छ।
आजको विश्वमा सत्ता परिवर्तन अब केवल बन्दुकबाट मात्र हुँदैन, मोबाइलको स्क्रिनबाट पनि हुन थालेको छ। एउटा ट्वीट, एउटा भिडियो, एउटा ह्यासट्यागले करोडौं मानिसलाई जोड्न सक्छ। “ककरोज मुभमेन्ट” सत्य हो वा अतिरञ्जना, त्यो समयले प्रमाणित गर्ला। तर यसले एउटा सन्देश भने स्पष्ट दिएको छ—अब युवा पुस्तालाई कमजोर, मौन वा निरीह सम्झिने युग समाप्त हुँदैछ ।