• २०८३ बैशाख १२ गते शनिवार

रोहित शर्मासँग पूर्व मुख्य छनोटकर्ताले किन मागे माफी ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १२, काठमाडौं । सन् १९८३ पछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप उपाधि जित्दा टोलीमा रोहित शर्मा समावेश नगरेकोमा भारतीय क्रिकेट बोर्डका पूर्व मुख्य छनोटकर्ता कृष्णामाचारी श्रीकान्तले माफी मागेका छन् ।

श्रीकान्तले अयाज मेमनको क्रिकेटसम्बन्धि पोडकाष्टमा कुरा गर्दै त्यति बेला टोली छनोट गर्दा बलिङ गर्न सक्ने ब्याट्सम्यानलाई प्राथमिकता दिइएले रोहित छुटेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार सन् १९८३ को शैलीअनुसार सबै खेलाडीले बहुआयामिक भूमिका खेल्न सक्ने रणनीति अपनाइएको थियो ।

श्रीकान्तले रोहितलाई टोलीमा नराखिएकोमा आफूलाई अहिले पनि दुःख लाग्ने भन्दै पछिल्लो समय व्यक्तिगत रूपमा माफी समेत मागेको खुलाएका छन् । उनले पछिल्लो बर्ष रोहितसँग माफी मागेको खुलाएका हुन् । साथै त्यो निर्णय जानाजानी नभई रणनीतिक सोचका कारण भएको पनि उनले स्पष्ट गरेका छन् ।

त्यतिबेला महेंद्र सिंह धोनीको कप्तानीमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा श्रीलंकालाई हराएर २८ वर्षपछि उपाधि जितेको थियो । प्रतियोगितामा युवराज सिंहले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गर्दै ‘प्रतियोगिताकै उत्कृष्ट खेलाडी’ बनेका थिए । टोलीमा वीरेन्द्र सहवाग, सचिन तेन्दुलकर, सुरेश रैना र युसुफ पठानजस्ता आंशिक बलिङ गर्न सक्ने खेलाडी रहेकाले विशेषज्ञ ब्याट्सम्यानका रूपमा रोहितलाई स्थान दिन नसकिएको उनले बताएका छन् ।

यद्यपि श्रीकान्तले रोहित त्यतिबेला टोलीमा पर्ने योग्य खेलाडी रहेको स्वीकार गरेका छन् । रोहितले पनि २०११ को विश्वकप नखेल्नुपरेकोमा पटक-पटक दुःख व्यक्त गर्दै आएका छन् । उनले पछि सन् २००७ र २०२४ को टी–२० विश्वकप तथा च्याम्पियन्स ट्रफीका संस्करणहरू जिते पनि रोहितले अहिलेसम्म एकदिवसीय विश्वकप भने जितेका छैनन् । रोहितको कप्तानीमा भारत २०२३ को विश्वकपमा फाइनलमा पुगेपनि अस्ट्रेलियासँग पराजित हुन पुगेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस