भदौ ८, काडमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालयकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

अनुसन्धानका क्रममा बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल उत्तीर्ण गरेको भन्दै सन् २०१० का नक्कली अंकपत्र, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्र तयार गरी विद्यालयमा पेस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
नक्कली प्रमाणपत्रकै आधारमा बालविकास सहजकर्ता पदमा नियुक्ति लिएर पारिश्रमिक तथा अन्य सुविधा प्राप्त गरेको देखिएको आयोगको भनाइ छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर भएको ठहर गर्दै आयोगले बोहरालाई कैद र जरिवाना मागदाबीसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।