असार १०, काठमाडौं । गैरकानुनी रूपमा आधुनिक चिकित्सा उपचारमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिल बाँसबारीले नियमित अनुगमनका क्रममा काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन एएम (पौडेल) गैरकानुनी रूपमा चिकित्सकीय अभ्यासमा संलग्न रहेको फेला पारेपछि उजुरी दिएको थियो ।

काठमाडौँ जिल्लाको साविक मातातीर्थ गाउँ विकास समिति–७ स्थायी ठेगाना भएकी पौडेलले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) बिना नै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार जाँच तथा उपचार गरिरहेको भेटिएको जनाइएको छ ।
अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत फेला परेपछि नेपाल मेडिकल काउन्सिलले छानबिन प्रतिवेदनसहित आवश्यक कारबाहीका लागि प्रहरीसमक्ष उजुरी दिएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि मंगलबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–८ स्थितबाट पौडेललाई पक्राउ गरेको हो ।
प्रहरीले अदालतबाट म्याद थप अनुमति लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचारसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।