असार १०, काठमाडौं । भीषण गर्मीका कारण फ्रान्समा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार गर्मीबाट राहत पाउन नदी, ताल र नहरमा पौडी खेल्न जाने क्रम बढेसँगै डुबेर ४० जनाको ज्यान गएको हो। मृतकमध्ये अधिकांश युवा रहेका छन् । त्यसैगरी, लू लागेर दुई बालबालिकासहित १८ जनाको मृत्यु भएको जनाइएको छ ।

बढ्दो तापक्रमका कारण फ्रान्सको गोलफेस आणविक विद्युत् केन्द्र सोमबार रातिदेखि बन्द गरिएको छ । विद्युत् केन्द्रलाई चिसो बनाउन प्रयोग हुने गारोन नदीको तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएकाले उत्पादन रोकिएको हो ।
फ्रान्स मात्र होइन, युरोपका २६ देश अहिले भीषण गर्मीको चपेटामा परेका छन् । स्पेन, इटाली र बेलायतसहित १४ देशमा रातो सतर्कता जारी गरिएको छ। अधिकांश देशमा तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।
फ्रान्स सरकारले अत्यधिक गर्मीका कारण सार्वजनिक स्थानमा मदिरा सेवन गर्न प्रतिबन्ध लगाएको छ । मौसम निकायले सोमबार राति सन् १९४७ यता अभिलेख राख्न थालिएपछि सबैभन्दा तातो रात रहेको जनाएको छ। देशका केही क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । गर्मीका कारण देशभर एक हजार ३५० भन्दा बढी विद्यालय बन्द गरिएको छ ।
वार्षिक रूपमा आयोजना हुने ‘फेत द ला म्युजिक’ सङ्गीत महोत्सवका क्रममा पनि सरकारले सार्वजनिक स्थानमा मदिरा सेवनमा प्रतिबन्ध लगाएको छ । हरेक वर्ष लाखौँ मानिस सडकमा उत्रिएर सहभागी हुने यस महोत्सवमा अत्यधिक गर्मीका बेला मदिरा सेवनले स्वास्थ्य जोखिम बढाउन सक्ने भन्दै रातो सतर्कता जारी गरिएका क्षेत्रमा प्रतिबन्ध लागू गरिएको हो ।
फ्रान्सको मौसम निकायले अहिलेको गर्मीको अवस्था सन् २००३ को विनाशकारी गर्मीसँग मिल्दोजुल्दो रहेको जनाएको छ । सन् २००३ मा १६ दिनसम्म चलेको भीषण गर्मीका कारण फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो । उक्त घटना युरोपको इतिहासकै सबैभन्दा घातक गर्मीजन्य विपत्तिमध्ये एक मानिन्छ ।