• २०८३ असार १० गते बुधवार

घानासँग गोलरहित बराबरीमा रोकियो इङल्याण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, काठमाडौं । जारी फिफा विश्वकप अन्तर्गत समूह एलको दोस्रो खेलमा इङ्ग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेलेका छन् । पहिलो खेलमा क्रोएसियामाथि प्रभावशाली जित निकालेको इङ्ग्ल्यान्डले यसपटक भने घानाविरुद्ध त्यही लय दोहोर्याउन सकेन ।

प्रशिक्षक थोमस टुचेलको टोलीलाई यस खेलमा जित हात पार्न सके अन्तिम ३२ मा स्थान सुरक्षित गर्ने अवसर थियो । तर घानाको सुदृढ र व्यवस्थित रक्षापङ्क्तिले इङ्ग्ल्यान्डलाई निराश बनायो ।

खेलको ५७औं मिनेटसम्म इङ्ग्ल्यान्डले लक्ष्यमा पहिलो प्रहार नै गर्न सकेन । रक्षापङ्क्तिमा पनि टोली दबाबमा देखियो र घानाले गरेको तीव्र प्रतिआक्रमणका क्रममा केही जोखिमपूर्ण अवस्थाबाट बच्न सफल भयो ।

गोलको खोजीमा टुचेलले एचिलिसको समस्याका कारण सीमित समय खेलाइँदै आएका बुकायो साकालाई मैदानमा उतारे । उनले जुड बेलिङ्घमलाई बाहिर निकाल्दै मोर्गन रोजर्सलाई मैदानमा पठाएका थिए । साकाले गरेको प्रहारलाई घानाका गोलरक्षक बेन्जामिन असारेले उत्कृष्ट बचाउ गरेका थिए । वैकल्पिक खेलाडी निको ओ’राइलीको हेडर क्रसबारमा लागेर फर्कियो भने मार्क गेहीको अर्को हेडरलाई रक्षापङ्क्तिले गोल रेखाबाटै फर्काएको थियो । दबाब बनाए पनि खेलको अन्त्यतिर इङ्ग्ल्यान्ड भाग्यमानी सावित भयो । एजरि कोन्साले पेनाल्टी क्षेत्रमा प्रिन्स क्वाबेना अडुलाई बलमा कुनै स्पर्श नगरी लडाएका थिए । तर रेफ्रीले पेनाल्टी दिएनन् ।

यो नतिजापछि इङ्ग्ल्यान्ड समूह एलको शीर्ष स्थानमा कायम रहेको छ । तर विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्न अब उसले अन्तिम खेलमा पानामाविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने भएको छ । त्यस्तै घानाको पनि २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । अब घानाले अन्तिम खेलमा क्रोसियाको सामना गर्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस