• २०८३ असोज ७ गते बुधवार

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ७, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा आज तेस्रो दिन बसेको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा सुझावका सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । त्यसपछि बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरूले प्रतिवेदनलगायत समसामयिक राजनीतिक विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गर्नुभएको एमालेले जनाएको छ । बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतले धारणा राख्नुभएको थियो । आयोगका अध्यक्षहरू भरत पहारी र डा पुष्प कँडेलले पनि बैठकमा धारणा राख्नुभएको थियो ।

त्यसैगरी, बैठकमा ठूलो सङ्ख्यामा केन्द्रीय सदस्यहरूले प्रतिवेदन र पार्टीका समसामयिक विषयमा आफ्ना सुझाव तथा धारणा प्रस्तुत गर्नुभएको थियो । एमालेले केन्द्रीय कमिटीको जारी बैठक बिहीबार दिउँसो १२ः३० बजे भनिमण्डलस्थित रामबाग भवनमा पुनः बस्ने जनाएको छ । त्यसअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १०ः०० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यक्रम रहेकोे एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस