• २०८३ असार ९ गते मङ्गलवार

रास्वपाका सदस्य कति पुगे ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
असार ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य ५ लाख २३ हजार ४६५ पुगेका छन् । चितवनमा जारी प्रथम महाधिवेशनको बन्द सत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्दै पार्टी सदस्य पुरुषको संख्या ३ लाख ९६ हजार ७८९, महिलाको संख्या ८९ हजार ८९६, अन्य ५८८ तथा पार्टी विवरणमा लिंग नखुलेका ३६ हजार १९२ गरेर कुल ५ लाख २३ हजार ४६५ पुगेको जानकारी दिएका हुन् ।
रास्वपाको सदस्यताको आधारमा मधेश प्रदेश सबैभन्दा ठूलो प्रदेश बनेको छ भने बागमती दोस्रो स्थानमा रहेको देखिएको छ।
प्रतिवेदनअनुसार मधेश प्रदेशमा २३.३ प्रतिशत सदस्य रहेका छन्। बागमतीमा २०.५ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, कोशीमा १४ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेका छन्।
जातीय संरचनाअनुसार खस आर्य समुदाय ४१ प्रतिशतसहित सबैभन्दा ठूलो समूह रहेको छ । त्यसपछि आदिवासी जनजाति १८ प्रतिशत, मधेसी १७.३ प्रतिशत, दलित ९.७ प्रतिशत, मुस्लिम २.५ प्रतिशत र थारु २ प्रतिशत रहेका छन्। करिब ९.६ प्रतिशत सदस्यको जातीय विवरण खुलाइएको छैन ।
उमेर समूहको तथ्याङ्कले रास्वपामा युवा पुस्ताको प्रभाव बलियो रहेको देखाउँछ । जस अनुसार ३५ वर्षमुनिका सदस्य ६४.१ प्रतिशत रहेका छन् । त्यसपछि ३५ देखि ४५ वर्ष उमेर समूहका १८.९ प्रतिशत, ४५ देखि ५५ वर्षका २.६ प्रतिशत र ५५ वर्षमाथिका ७.७ प्रतिशत सदस्य रहेका छन् ।
रास्वपाले जारी महाधिवेशन अघि ६ प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ भने मधेश प्रदेशमा तयारी जारी रहेको उल्लेख गरिएको छ । हालसम्म ६६ जिल्लामा, ६०९ पालिकामा र ६ हजार २ सय ६२ वडामा अधिवेशन सम्पन्न भएको विवरणमा उल्लेख छ।
अधिवेशन हुन बाँकी जिल्लामा डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ, मुस्ताङ, धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्। यस्तै सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि अझै सम्पन्न हुन बाँकी रहेको जनाइएको छ ।
प्रतिवेदनमा गण्डकी, सुदूरपश्चिम र विशेषगरी कर्णाली प्रदेशमा संगठन विस्तार अपेक्षाकृत कमजोर रहेको उल्लेख गर्दै ती क्षेत्रमा थप सुदृढीकरण आवश्यक रहेको औँल्याइएको छ । यस्ता कमजोरी सुधार गर्न नसके आगामी निर्वाचनमा चुनौती थपिन सक्ने चेतावनी पनि प्रतिवेदनमा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस