• २०८३ असार ९ गते मङ्गलवार

पिङ परीक्षण अस्वीकार गरेकी पूर्व विम्बल्डन च्याम्पियन मार्केटालाई चार बर्षको प्रतिबन्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ९, काठमाडौं । । पूर्व विम्बल्डन च्याम्पियन मार्केटा भोन्ड्रोसोभालाई डोपिङ परीक्षण अस्वीकार गरेको आरोपमा चार वर्षका लागि प्रतिबन्ध लगाइएको छ । २६ वर्षीया चेक खेलाडीलाई सन् २०२५ को डिसेम्बरमा आफ्नै घरमा डोपिङ परीक्षण गर्न पुगेका अधिकारीलाई प्रवेश गर्न नदिएपछि अन्तर्राष्ट्रिय टेनिस इमानदारी निकायले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

भोन्ड्रोसोभाले गत अप्रिलमा आफूले सुरक्षाको चिन्ताका कारण परीक्षण अस्वीकार गरेको बताएकी थिइन् । उनले डोपिङ नियन्त्रण अधिकारीले निर्धारित प्रक्रिया पालना नगरेको र त्यसले आफूलाई असुरक्षित महसुस गराएको दाबी गरेकी थिइन् ।

तर, सुनुवाइ गर्ने न्यायाधिकरणले परीक्षण अस्वीकार गर्न कुनै बलियो र विश्वसनीय कारण प्रस्तुत गर्न नसकेको निष्कर्ष निकालेको छ । सन् २०२३ मा वरीयताबाहिर रहेर विम्बल्डन महिला एकल उपाधि जित्ने पहिलो खेलाडी बनेकी भोन्ड्रोसोभाको प्रतिबन्ध सन् २०३० जुन २१ मा सकिनेछ । यद्यपि, उनीसँग खेलसम्बन्धी मध्यस्थता अदालतमा पुनरावेदन गर्ने अधिकार भने रहनेछ ।

भोन्ड्रोसोभाले जारी गरेको वक्तव्यमा आफूले कहिल्यै डोपिङ नगरेको र कुनै पनि परीक्षणमा सकारात्मक नतिजा नआएको उल्लेख गरेकी छन् । उनले भनिन्- ‘मैले कहिल्यै डोपिङ गरेको छैन । मेरो सम्पूर्ण खेल जीवनमा अनगिन्ती डोपिङ परीक्षणबाट गुज्रिएकी छु र सधैँ स्वच्छ मनका साथ कोर्टमा उत्रिएकी छु ।’

सन् २०१९ मा फ्रेन्च ओपनको उपविजेता समेत बनेकी पूर्व विश्व नम्बर ६ भोन्ड्रोसोभाले जनवरीयता कुनै प्रतिस्पर्धात्मक खेल खेलेकी छैनन् । उनी हाल विश्व वरीयतामा १२२औँ स्थानमा झरेकी छन् । उनले भविष्यबारे अनिश्चितता व्यक्त गर्दै भनिन्- ‘अब के गर्ने भन्ने मलाई थाहा छैन। जीवनमा पहिलो पटक मसँग कुनै योजना छैन ।’ सुनुवाइका क्रममा उनले मानसिक तनाव, कमजोर मानसिक अवस्था र सुरक्षासम्बन्धी चिन्ताले आफ्नो निर्णय क्षमतामा असर पारेको बताएकी थिइन् ।

अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सीकी प्रमुख कार्यकारी करेन मुरहाउसले डोपिङ परीक्षण प्रक्रिया खेलाडीका लागि असहज हुन सक्ने स्वीकार गरे पनि निष्पक्ष प्रतिस्पर्धा जोगाउन यस्तो प्रक्रिया अत्यावश्यक रहेको बताइन् । भोन्ड्रोसोभाले भने राति अबेर अपरिचित व्यक्तिले आफ्नो परिचय स्पष्ट नगरी घरमा आउँदा आफू डराएको बताएकी छन् ।

एजेन्सीका अनुसार भोन्ड्रोसोभाले डोपिङ नियन्त्रण अधिकारीलाई परीक्षण नदिने जानकारी दिएकी थिइन् र त्यसको केही समयपछि कुकुर घुमाउन बाहिर निस्कँदा अस्वीकारसम्बन्धी कागजातमा हस्ताक्षर समेत गरेकी थिइन् । सोमबार निर्णय सार्वजनिक भएपछि पत्रकारहरूसँग कुरा गर्दै मुरहाउसले खेलाडीले डोपिङ परीक्षण अस्वीकार गर्ने घटना अत्यन्तै दुर्लभ हुने बताइन् ।

यसअघि सन् २०२४ मा रुसी खेलाडी भ्लादिस्लाभ इभानोभलाई पनि प्रतियोगिताकै क्रममा डोपिङ परीक्षण अस्वीकार गरेपछि चार वर्षका लागि प्रतिबन्ध लगाइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस