• २०८३ बैशाख ९ गते बुधवार

अमेरिकासँग वार्ता गर्न इरान किन भयो अनिच्छुक ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ९, काठमाडौं । पाकिस्तानमा हुने भनिएको अमेरिका–इरान दोस्रो चरणको वार्ता स्थगित हुनुमा इरानको प्रतिक्रिया नआउनु मुख्य कारण रहेको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले महत्वपूर्ण विषयहरूमा आफ्ना सर्तहरूको सूची इरानलाई पठाएको थियो । तर केही दिन बित्दासमेत इरानबाट कुनै औपचारिक जवाफ नआएपछि वार्ता अघि बढ्न सकेन ।

अमेरिकी अधिकारीहरूका अनुसार इरानभित्रको आन्तरिक मतभेद पनि यसमा ठूलो कारण बनेको छ । विशेषगरी युरेनियम संवर्धन र भण्डारणजस्ता विषयमा इरानी नेतृत्वबीच एउटै धारणा बन्न नसकेको जनाइएको छ ।

यसैबीच अमेरिकाले इराकमाथि पनि दबाब बढाएको छ । इराकलाई डलर आपूर्ति रोक्नुका साथै केही सुरक्षा सहकार्य कार्यक्रम स्थगित गरिएको बताइएको छ । यस कदमलाई इरान समर्थित समूहहरूलाई नियन्त्रण गर्न इराकमाथि दबाब बढाउने प्रयासका रूपमा हेरिएको छ ।

रिपोर्टअनुसार करिब ५० करोड डलर नगद बोकेको एक कार्गो विमान अमेरिकी निकायले रोकिदिएको छ । उक्त रकम इराकको तेल निर्यातबाट प्राप्त आम्दानी भएको जनाइएको छ । अमेरिकी पक्षले यो रकम सशस्त्र समूहसम्म पुग्न सक्ने आशंकामा यस्तो निर्णय लिएको जनाएको छ ।

यसैबीच इरानका एक उच्च सैन्य कमाण्डरले खाडी क्षेत्रका देशहरूलाई कडा चेतावनी दिएका छन् । उनले इरानविरुद्ध आक्रमणका लागि आफ्नो भूमि वा सैन्य आधार प्रयोग हुन दिएमा मध्यपूर्वको तेल उत्पादन नै प्रभावित हुने चेतावनी दिएका हुन् ।

उनले आवश्यक परे इरानले सैन्य ठेगानामात्र होइन, तेल उत्पादन केन्द्र र प्रशोधनस्थलहरूलाई पनि निशाना बनाउन सक्ने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस