• २०८३ असोज ५ गते सोमवार

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ। अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै, प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन्। मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछिन्।

आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक पनि बस्ने तय भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस