• २०८३ जेष्ठ ७ गते बिहिवार

मूल्य पारदर्शिता सप्ताह: २०५ वटा फर्ममा अनुगमन, १० लाई कारवाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ७, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत एक सातासम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा १० वटा फर्म तथा कम्पनीलाई कारबाही गरेको छ । विभागले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म नियमित बजार अनुगमन सञ्चालन गरेको जनाएको छ । उक्त अवधिमा उपभोक्ता हित संरक्षण, मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन, बिल बिजकको प्रयोग, गुणस्तर कायम तथा बजार अनुशासन अनुगमन गरिएको थियो ।

विभागका अनुसार कुल २०५ वटा फर्म तथा पसलमा अनुगमन गरिएकोमा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गर्ने १० वटा फर्म तथा कम्पनीलाई ५ लाख ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, थप अनुसन्धान तथा प्रमाण परीक्षणका लागि ४ वटा फर्मसँग आवश्यक कागजात माग गरिएको विभागले जनाएको छ । सामान्य प्रकृतिका त्रुटि तथा कमजोरी भेटिएका १९१ वटा फर्मलाई निर्देशन, सचेतना तथा सुधारका सुझाव दिइएको छ ।

विभागले बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ । साथै व्यवसायीलाई प्रचलित कानुन पालना गर्न, मूल्यसूची अनिवार्य राख्न, गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन र उपभोक्ताको अधिकार सम्मान गर्न आग्रह गरिएको छ ।

उपभोक्तालाई पनि कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा बिल नदिने जस्ता गतिविधि देखिए विभागमा उजुरी तथा जानकारी गराउन अनुरोध गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस