वैशाख ८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन वरिष्ठ डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित दुई जनाविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार श्रेष्ठले निर्माण सेवा सञ्चालन गर्ने व्यवसायी तथा सम्बन्धित संयुक्त उपक्रमहरूबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएका थिए । त्यसपछि सोही रकम प्रयोग गरी देउकला अधिकारी र श्रेष्ठको संयुक्त नाममा विभिन्न सम्पत्ति खरिद गरिएको पाइएको छ ।
अनुसन्धानका क्रममा पुरातत्व विभागले गरेका ठेक्का सम्झौतामध्ये करिब ६४ करोड २१ लाख रुपैयाँ बराबरका काममा श्रेष्ठ संलग्न रहेको खुलेको छ । ती ठेक्कामा सहजीकरण गरिदिने नाममा उनले घुस माग्ने र लिने गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
घुसबापत संकलित करिब ४ करोड २२ लाख ७५ हजार रुपैयाँ विभिन्न मितिमा देउकला अधिकारीको खातामा जम्मा गरिएको र त्यस रकमबाट जग्गा खरिद, सुन खरिद तथा अन्य व्यक्तिलाई भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ ।
आयोगले गैरकानुनी रूपमा आर्जित रकमको स्रोत लुकाउन तथा रूपान्तरण गर्न दुवै जनाले मिलेमतोमा काम गरेको ठहर गर्दै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा कारबाहीको माग गरेको छ ।