चैत ७, रसुवा। एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसारपसार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ। जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित पासाङ ल्हामु राजमार्ग अन्तर्गतको सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको एम्बुलेन्सबाट ठूलो परिमाणमा चुरोट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बा.प्र. ०१००२ झ ५४२६ नम्बरको एम्बुलेन्सभित्र अगाडि तथा पछाडिको भागमा लुकाइछिपाइ गरी राखिएको ‘हर्मोनाइजेशन’ लेखिएको ३ हजार ४ सय ४० बट्टा चिनियाँ चुरोट फेला पारिएको हो। बरामद चुरोटको अनुमानित मूल्य करिब आठ लाख ९० हजार रुपैयाँ बराबर रहेको छ।
उक्त एम्बुलेन्समा सवार चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका–३ का ४३ वर्षीय दावा तामाङ (चालक), २७ वर्षीय माक्सु तामाङ, ३२ वर्षीय सुसिल तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।
घटनामा प्रयोग गरिएको एम्बुलेन्स तथा चुरोट बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
