जेठ ६, काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् । मेयर डेभिडको निमन्त्रणामा ७९ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पुग्नुभएकी कार्यवाहक प्रमुख डंगोललाई मेयर डेभिडले सिटी हलमा स्वागत गरेका थिए ।

नेवार समुदायका महिलाहरुको परम्परागत पोशाक हाकुपटासी लगाएर काठमाडौँको पहिचान लिएर उनी कार्यक्रममा सहभागी भएकी थिइन् । डेभिडको स्वागतपछि चलचित्र विधाका रचनात्मक सहरले सञ्चालन गरिरहेका कार्यक्रम र आगामी योजनाका विषयमा कुराकानी गर्दै कार्यवाहक प्रमुख डंगोलले मेयर डेभिडलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा गरेकी हुन् ।
त्यस क्रममा मेयर डेभिडले, काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताएका थिए । कुराकानीका क्रममा चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खाना जस्ता कला, शैली र शिल्पलाई उद्योगका रुपमा विकास गर्दाका अनुभव कार्यक्रममा स्थानीय समुदाय, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता, आपसी सिप र हितका विषय समेटिएका थिए ।
त्यस क्रममा मोरक्कोको दक्षिण केन्द्रमा रहेको नगर ओउरजाजातेका मेयर सैद अफ्रोख पनि सहभागी थिए ।
कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।