जेठ ६, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- विश्वविद्यालयहरूको उपकुलपतिका लागि मागिएको आवेदनमा २१८ जनाले निवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको जानकारी दिएको छ । विभिन्न ८ विश्वविद्यालयमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाको आवेदन परेको छ । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाको उम्मेदवारी परेको छ। सरकारले गत वैशाख २५ गते अनलाइन माध्यमबाट उपकुलपति पदका लागि आवेदन खुलाएको थियो ।
२- काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् । मेयर डेभिडको निमन्त्रणामा ७९ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पुग्नुभएकी कार्यवाहक प्रमुख डंगोललाई मेयर डेभिडले सिटी हलमा स्वागत गरेका थिए । नेवार समुदायका महिलाहरुको परम्परागत पोशाक हाकुपटासी लगाएर काठमाडौँको पहिचान लिएर उनी कार्यक्रममा सहभागी भएकी थिइन् । डेभिडको स्वागतपछि चलचित्र विधाका रचनात्मक सहरले सञ्चालन गरिरहेका कार्यक्रम र आगामी योजनाका विषयमा कुराकानी गर्दै कार्यवाहक प्रमुख डंगोलले मेयर डेभिडलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा गरेकी हुन् । त्यस क्रममा मेयर डेभिडले, काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताएका थिए । कुराकानीका क्रममा चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खाना जस्ता कला, शैली र शिल्पलाई उद्योगका रुपमा विकास गर्दाका अनुभव कार्यक्रममा स्थानीय समुदाय, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता, आपसी सिप र हितका विषय समेटिएका थिए । त्यस क्रममा मोरक्कोको दक्षिण केन्द्रमा रहेको नगर ओउरजाजातेका मेयर सैद अफ्रोख पनि सहभागी थिए । कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।
३- पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण अनिवार्य रूपमा पेस गर्न सूचना जारी गरेको छ । महानगरपालिकाले यसअघि निस्सा वितरण भएका पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्क क्षेत्रको जग्गामा बसोबास गरिरहेका परिवारलाई आवश्यक कागजातसहित विवरण बुझाउन आग्रह गरेको हो। सूचनाअनुसार सम्बन्धित व्यक्तिले आफ्नो र परिवारको विवरण तोकिएको ढाँचामा भरी जेठ ८ गतेभित्र वडा नम्बर ९ को कार्यालयमा बुझाउनुपर्नेछ। महानगरपालिकाले सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । विवरण पेस गर्दा पोखरा महानगरपालिकाबाट प्राप्त निस्साको प्रतिलिपि, घरमूली तथा परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। त्यसैगरी घरमूली र परिवारका अन्य सदस्यबीचको नाता प्रमाणित गर्ने कागजात वा घरमूली स्वयंले नाता खुलाएको स्वघोषणा पत्र पनि पेस गर्नुपर्ने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले तोकिएको समयभित्र आवश्यक विवरण तथा कागजात बुझाउन सम्बन्धित सबैसँग आग्रह गरेको छ।
४- बाजुराको हिमाली गाउँपालिकाको लाम्पाटामा सीमा विवादमा भएको झडपमा घाईते भएका ४ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादमा दुई जिल्लाका स्थानीयबीच भएको विवादमा घाईते ४ जनालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको हो । झडपमा हिमाली गाउँपालिका लाम्पाटाका पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । यस घटनाको बारेमा बाजुराका चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गरेका छन् । हिमाली गाउँपालिकाको टोली सहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियान टोलीमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहित पत्रकारको टोली रानीसैनको पर्यटन, प्रबद्र्धन गर्ने उदेश्यले हिँडेको टोलीलाई हुम्ली जनताले देखाएको अमानवीय व्यवहारको निन्दा गरिएको छ । विज्ञप्तीमा हुम्ला जिल्लाको खार्पूनाथ गाउँपालिका वडा.नम्बर २ थाली लगायत उक्त क्षेत्रका स्थानीय नागरिक आएर एक्कासी आक्रमण गर्दा विभिन्न व्यक्तिमाथी गरिएको सांघातिक हमला तथा कुटपिटको घोर भर्त्सना तथा निन्दा व्यक्त गर्दै उक्त घटनामा घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना सहित दोषी उपर कानुन बमोजिम कडा कारवाही प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसंग जोडदार माग गरिएको छ । विज्ञप्तिमा हिमाली गाउँपालिका ३ को क्षेत्रमा पर्ने लाम्पाटा,च्याचौर,रानिसैन,साविक विच्छ्या गाविसका नागरिकले उपभोग गर्दै आएको र नेपाल सरकारको नापी विभाग सन २००१ मा फिल्ड भेरिफिकेशन सहित जारी गरिएको नेपालको नक्सा सिट नं. २९८१–०३ मा स्पष्टसंग साक्या लाग्ना,डाँडालेप्च्या र ठोसाभन्दा माथी हुम्ला र तल बाजुरा छुट्टाईएको उल्लेख गरिएको छ । साक्या लाग्ना भन्दा तलका जेखुङ्गखर्क,लेप्चेखर्क, मायोङ्ग्खर्क,रानीखर्क,धौली खर्क,च्याचौर र लाम्पाटा बाजुरामा पर्ने स्पष्ट कानुनी आधार हुँदाहुँदै पनि त्यहाँका स्थानीय नागरिकले उपभोगको आधारमा आफ्नो हो भनी,स्थानीय नागरिक माथी गरिएको हमला,निन्दनीय हुनुका साथै रानिसैन क्षेत्र र सिमावर्ती क्षेत्रका जनताको दावी निराधार तथ्थहिन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सत्य,तथ्य प्रमाणका आधारमा यस विवादको निराकरण गरि थप दुर्घटना हुनबाट जोगाउन जिल्ला प्रशासन कार्यालय बाजुरा,जिसस बाजुरा,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम,नेपाल सरकार गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराईएको छ । अन्यथा यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सम्बन्धित पक्ष जवाफदेही हुनुपर्ने बताइएको छ ।
५- सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा २४ घण्टाभित्र जवाफ दिन आदेश गरेको छ । न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ लिएर महान्यायाधिवक्ता कार्यालयमार्फत उपस्थित हुन आदेश दिएको हो । प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । सोमबार राति वीरगन्जबाट पक्राउ परेका प्रसाईलाई प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेर अदालतबाट तीन दिनको म्याद थपेको थियो ।
६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै संसदमा विपक्षीको आवाज अलि बढी सुनिने र अहिले त्यो भइरहेको बताउदै संसद राम्रोसँग चलिरहेको प्रतिक्रिया दिएका छन् । उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने बताउदै त्यसको तयारी सरकारले गरिरहेको बताए । उनले सबै बैठकमा सबै मन्त्री बसेर त्यसको जवाफ दिन सम्भव नहुने भन्दै सिस्टमेटिक ढंगले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिने गरि तयारी भइरहेको जानकारी दिए । साथै उनले रास्वपा महाधिवेशनको तयारीमा लागेको बताउदै पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।
७- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै साम्पाङले आफ्नो विरोध जारी रहने भन्दै त्यसका लागि निलम्बन हुन समेत तयार रहेको प्रतिक्रिया दिए । उनले जनताको लागि, संसद र विधि विधानको लागि निलम्बन हुन समेत तयार रहेको बताए । उनले आज पनि निलम्बन गर्न भनेको तर नगरेको बताउदै सभामुख साझा हुनुपर्नेमा जोड दिए । उनले संसदीय दलको नेतालाई २ मिनेट ३ मिनेट बोल भन्ने नहुने भन्दै सभामुख दलबाट भएपनि सबैको हुनुपर्ने टिप्पणी गरे । साम्पाङले आफुहरुले प्रश्न गरेको र त्यसको जवाफ नपाएको बताउदै आफुहरुको विरोध जारी रहने बताए । जनताले सरकार जनताप्रति जवाफदेही छ या छैन भन्ने मुल्यांकन गर्ने बताउदै साम्पाङले आफुहरुले पाँचै बर्ष विरोध गर्ने बताए । दुई तिन दिन विरोध गर्दा आज संसदमा मन्त्री आएपनि प्रश्न गर्न सभामुखले नदिएको समेत आरोप लगाए ।
८- बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ । सहमति भएसँगै उनले आफ्नो २३औं दिनको अनशन अन्त्य गरेकी छन्र्नु । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन् । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल थिए । उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गरेकी छन् । सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ। त्यस्तै, अनशनरत खानले उठाएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरूउपर प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा माथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ । यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख,प्रहरी उपरीक्षक लगायतका कर्मचारीहरूको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ। यसैगरी, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ । उक्त सहमतिपत्रमा मानव अधिकार र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रोहवरका रूपमा हस्ताक्षर गरेका छन् । रोहवरमा हस्ताक्षर गर्नेमा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक बसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मन कुमारी गुरताल र सदस्य गीता रैदास रहेका छन् ।
९- नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तापक्षका सांसद निरिह देखिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै पुनले सत्तापक्षका सांसदहरु निरीह देखिएको टिप्पणी गरेका हुन् । उनले भने- ‘सत्तापक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो । सरकारले ल्यायो क्यारे, मान्दिने जस्तो देखिनुभयो । उहाँहरूले भोलि आफ्नो निर्वाचन क्षेत्रमा जबाफ दिनुपर्छ । यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो ?’ त्यस्तै पुनले सरकारको नियतमा पनि प्रश्न गरेका छन् । उनले सरकारको नियत संसद् छल्ने, ढिलो गरी बोलाउने अनि बाध्यात्मक ट्र्यापमा पार्ने जस्तो देखिएको बताए । उनले सरकारलाई आफ्नो गन्तव्य र वैचारिक धरातल स्पष्ट पार्न चुनौती दिदै भने- ‘हामी कम्युनिस्ट होइनौँ भन्नुभएको छ, नवउदारवादी पनि होइनौँ भन्नुभएको छ, हो के त उहाँहरू ?’
१०- सरकारले निर्वाचनसँग सम्बन्धित दुई विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यी विधेयकहरु प्रस्तुत गरेकी हुन् । जसमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको छ । जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताएकी थिइन् । प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहीबार विहान ११ बजे बस्ने गरि बोलाइएको छ ।
११- नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४. ४८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रोको शेयर ११.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.२६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको १८ करोड ३५ लाखको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको १७ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
१२- चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग २०० विमान खरिद गर्ने सम्झौता पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत साता बेइजिङमा भएको भेटपछि चीनले अमेरिकाबाट विमान खरिद गर्ने जानकारी सार्वजनिक भएको थियो । चीनको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको वक्तव्यमा उक्त सम्झौताअन्तर्गत अमेरिकाले विमानका इन्जिनका पुर्जा तथा अन्य आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने जनाएको छ । दुवै देशले गत वर्ष अक्टोबरमा रोकिएको कर युद्धलाई थप नियन्त्रणमा राख्ने दिशामा काम गर्न सहमति जनाएका छन्। साथै कम्तीमा ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लगाइएको कर घटाउने प्रयास गर्ने समझदारीसमेत भएको छ । यो घोषणा सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता भइरहेका बेला आएको हो। ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै उक्त भेटवार्ता भएको हो । ट्रम्पले गत शुक्रबार चीनबाट फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै बोइङका २०० भन्दा बढी विमान खरिदसम्बन्धी सम्झौता भएको बताएका थिए। साथै उनले ७५० विमानसम्म खरिद गर्ने प्रतिबद्धता प्राप्त भएको दाबी गर्दै यसलाई अहिलेसम्मकै ठूलो अर्डर हुनसक्ने बताएका थिए।
१३- ताइवानी भोजन संस्कृति र निषेधित प्रेमकथामा आधारित उपन्यास ‘ताइवान ट्राभलोग’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको छ। मन्दारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको कृतिले पहिलोपटक यो सम्मान प्राप्त गरेको हो । यो उपन्यास ताइवानी लेखिका याङ शुआङ जी र ताइवानी–अमेरिकी अनुवादक लिन किङको संयुक्त कृति हो । उपन्यासको कथा सन् १९३० दशकको ताइवानमा आधारित छ, जतिबेला ताइवान जापानी शासनअन्तर्गत थियो। कथामा दुई महिलाले ताइवानका विभिन्न परिकारको यात्रामार्फत संस्कृति र सम्बन्धको अनुभव गर्ने विषय समेटिएको छ । पुस्तकलाई पुरानो यात्रा संस्मरणको अनुवादजस्तो शैलीमा प्रस्तुत गरिएको छ, जसमा काल्पनिक टिप्पणीसमेत समावेश छन्। सन् २०२० मा पुस्तक प्रकाशित हुँदा धेरै पाठकले यसलाई वास्तविक ऐतिहासिक दस्तावेज नै ठानेका थिए । निर्णायक मण्डलकी अध्यक्ष नताशा ब्राउनले यसलाई ‘अत्यन्त आकर्षक, बौद्धिक र परिष्कृत उपन्यास’ भनेर वर्णन गरेकी छन् । कथाकी मुख्य पात्र काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारी सहयोगमा ताइवान भ्रमणमा जान्छिन्। त्यहाँ उनको साथमा ताइवानी अनुवादक ओ चिजुरु रहन्छिन् र उनीहरूबीच प्रेम सम्बन्ध विकास हुन्छ। उपन्यासले यी दुई पात्रमार्फत प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र सत्तासम्बन्धी विषयलाई गहिराइमा प्रस्तुत गरेको छ।
१४- वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् । मंगलबार प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएर कार्यभार सम्हालेसँगै बुधबारबाट मल्ल २० को दिनको बिदामा बसेकी हुन् । कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल संबैधानिक परिषदले चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेपछि असन्तुष्ट रहदै आएकी थिइन् । उनले सार्बजनिक रुपमा पनि सो असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
१५- बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । बंगलादेशले बुधबार सम्पन्न दोस्रो टेस्ट खेलमा पाकिस्तानलाई ७८ रनले पराजित गरेको हो । बंगलादेशले दिएको ४३७ रनको लक्ष्य पछाएको पाकिस्तान ३५८ रन बनाएर अल आउट भएपछि बंगलादेशले खेल ७८ रनले खेल जितेको हो । यस खेलमा बंगलादेशले पहिलो इनिंगमा २७८ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा २३२ रन बनाएको थियो । त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा ३९० रन बनाएर पाकिस्तानलाई ४३७ रनको लक्ष्य दिएको थियो । यस खेलमा पहिलो इनिंगमा १२६ रनको शतकीय पारी र दोस्रो इनिंगमा ६९ रन बनाएका लिटन दास प्लेयर अफ द म्याच बनेका छन् भने सिरीजमा सर्बाधिक २५३ रन बनाएका बंगलादेशका मुशफिकुर रहिम प्लेयर अफ द सिरिज बनेका छन् । यस अघि बंगलादेशले पाकिस्तानविरुद्ध २०२४ मा खेलेको दुवै टेस्ट जितेको थियो भने त्यसपछि खेलेको दुवै टेस्ट पनि जितेको छ ।
१६- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको पहिलो टी-२० जितेको छ । बुधबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा अल आउट हुदै ६७ रन बनाएको थियो । एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप खेल्ने मलेसिया पुगेको नेपाली टिमले मलेसियासँग दुई टी-२० खेलिरहेको छ । अब दोस्रो खेल शुक्रबार हुने क्यानले जानकारी दिएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३३ सयले घटेर तोलाको २ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर ४९६० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०८५ मा कारोबार भएको थियो ।
१८- लगातार सात पटक असफल भएपछि अन्ततः अमेरिकी सिनेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अधिकार सीमित गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । विशेषगरी इरानविरुद्ध कुनै पनि सैन्य कारबाही रोक्ने उद्देश्यसहित ल्याइएको यो प्रस्ताव ट्रम्प प्रशासनका लागि ठूलो झट्का मानिएको छ । सिनेटमा भएको मतदानमा प्रस्तावको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४७ मत परेको थियो । सबैभन्दा चासोको विषय भने ट्रम्पकै रिपब्लिकन पार्टीका चार सिनेटरले पार्टीविरुद्ध मतदान गर्दै डेमोक्रेटिक पार्टीलाई समर्थन गर्नु रह्यो । ट्रम्पविरुद्ध मतदान गर्ने रिपब्लिकन सिनेटरहरूमा सुसान कोलिन्स, लिसा मुर्कोव्स्की, र्यान्ड पल र बिल क्यासिडी रहेका छन् । अमेरिकी सञ्चारमाध्यम सिबिएस समाचारका अनुसार डेमोक्रेटिक पार्टीले यो प्रस्ताव पारित गराउन गरेको आठौँ प्रयास सफल भएको हो । डेमोक्रेटिक पार्टीका सिनेटर टिम केनले प्रस्तुत गरेको प्रस्तावको मुख्य उद्देश्य राष्ट्रपति ट्रम्पले संसदको अनुमति बिना इरानमाथि हमला गर्न नपाउने व्यवस्था गर्नु हो । प्रस्तावमा अमेरिकी संसदबाट औपचारिक रूपमा युद्ध घोषणा नभएसम्म वा सैन्य शक्ति प्रयोगका लागि विशेष अनुमति नदिइएसम्म अमेरिकी सेनालाई इरानविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिमा संलग्न गराउन नपाइने उल्लेख गरिएको छ । यस प्रस्तावलाई राष्ट्रपति शक्तिमाथिको प्रत्यक्ष नियन्त्रणका रूपमा हेरिएको छ । प्रस्ताव पारित भएपछि डेमोक्रेटिक नेताहरूले खुशी व्यक्त गरेका छन् । क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटर एडम सिफले सामाजिक सञ्जालमार्फत सिनेटका डेमोक्रेटहरूले फेरि एकपटक ‘असंवैधानिक युद्ध’ रोक्न मतदान गराएको बताएका छन् । उनले संवैधानिक जिम्मेवारी पूरा गर्दै प्रस्तावलाई समर्थन गर्ने रिपब्लिकन सांसदलाई धन्यवाद समेत दिएका छन् । यस्तै सिनेटर बर्नी स्यान्डर्सले अमेरिकी जनता अन्तहीन युद्धमा अर्बौँ डलर खर्च गर्न नचाहेको बताएका छन् । उनले देशभित्रका गम्भीर समस्या समाधान गर्नु अहिलेको प्राथमिकता भएको उल्लेख गर्दै असंवैधानिक युद्ध तुरुन्त अन्त्य हुनुपर्ने धारणा राखेका छन् । यो घटनाक्रम अमेरिका र इरानबीच शान्ति सम्झौताबारे वार्ता चलिरहेका बेला भएको हो । यसअघि सोमबार ट्रम्पले आफूले इरानमाथि हुने तय गरिएको ठूलो हमला रोकेको खुलासा गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमार्फत कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी अरबका युवराज मोहम्मद बिन सलमान तथा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले हमला स्थगित गर्न विशेष आग्रह गरेको बताएका थिए । ती नेताहरूले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र राम्रो सम्झौता सम्भव रहेको बताएका थिए । खाडी मुलुकका नेताहरूको आग्रहपछि ट्रम्पले मंगलबार हुने भनिएको सैन्य हमला रोके पनि उनले शान्ति सम्झौताका लागि आफ्नो मुख्य सर्त सार्वजनिक गरेका छन् । ट्रम्पले इरानसँगको कुनै पनि सम्झौतामा ‘इरानसँग परमाणु हतियार नहुने’ विषय सबैभन्दा महत्वपूर्ण हुने स्पष्ट पारेका छन् । उनले आफ्ना युद्ध सचिव पिट हेगसेथ र संयुक्त सैनिक प्रमुख समिति अध्यक्ष जनरल ड्यानियल केनलाई हमला रोक्न निर्देशन दिएको जानकारी समेत दिएका छन् । यद्यपि अमेरिका र इरानबीचको तनाव पूर्ण रूपमा समाप्त भने भएको छैन । ट्रम्पले अमेरिकी सेनालाई उच्च सतर्कतामा राखिएको बताएका छन् । यदि इरानसँग स्वीकार्य सम्झौता हुन नसके अमेरिकी सेना पूर्ण शक्तिसहित ठूलो स्तरको हमला गर्न तयार रहने चेतावनी पनि उनले दिएका छन् । उनले आवश्यक परे एकै क्षणको सूचनामा इरानविरुद्ध व्यापक सैन्य कारबाही सुरु गर्न सेना तयार अवस्थामा रहेको बताएका छन् ।
१९- आर्सनलले २२ वर्षपछि पहिलोपटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराती म्यानचेस्टर सिटी बर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले एक खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको हो । अघिल्ला आठ सिजनमध्ये छ पटक उपाधि जितेको म्यानचेस्टर सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्याउन जित अनिवार्य थियो । तर बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि पेप ग्वार्डिओलाको टोली उपाधि रक्षा गर्न असफल भयो । यो आर्सनलको इतिहासमा १४औँ प्रिमियर लिग उपाधि हो । सर्वाधिक २०–२० पटक उपाधि जितेका लिभरपुल र म्यानचेस्टर युनाइटेडपछि आर्सनल तेस्रो स्थानमा छ । यसअघि आर्सनलले सन् २००३–०४ मा अन्तिमपटक उपाधि जितेको थियो । त्यस सिजन प्रशिक्षक आर्सेन भेङ्गरको नेतृत्वमा टोली अपराजित रहँदै च्याम्पियन बनेको थियो । मिकेल आर्टेटाको टोली यस सिजन युरोपेली च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ । मे ३० मा हुने फाइनलमा आर्सनलले पिएसजीसँग खेल्नेछ । आर्सनल पहिलोपटक युरोपेली च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । सन् २०१९ मा प्रशिक्षक बनेका आर्टेटा प्रिमियर लिग खेलेका पूर्व खेलाडीमध्ये प्रशिक्षकका रूपमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । लगातार तीन सिजन उपविजेतामै सीमित भएपछि यसपटक भने उनले टोलीलाई सफलतामा पुर्याएका हुन् । सन् २०२३ र २०२४ मा आर्सनलले अग्रता लिए पनि अन्तिम समयमा म्यानचेस्टर सिटीले उपाधि खोसेको थियो । गत वर्ष लिभरपुलपछि दोस्रो स्थानमा सीमित बनेको आर्सनलले यसपटक भने लामो प्रतीक्षा अन्त्य गरेको हो । आर्सनलको सफलताको मुख्य आधार बलियो रक्षापङ्क्ति र निश्चित अवस्थाबाट गरिएको प्रभावकारी प्रदर्शन रह्यो । टोलीले ३७ खेलमा लिगकै कम २६ गोल मात्र व्यहोरेको छ भने १९ खेलमा गोल खानबाट जोगिएको छ । सन् २०१७ पछि पहिलोपटक म्यानचेस्टर सिटी वा लिभरपुल बाहेकको टोली च्याम्पियन बनेको हो । खेलपछि ग्वार्डिओलाले आर्सनललाई बधाई दिएका छन् । उनले प्रशिक्षक मिकेल आर्टेटा, टोलीका खेलाडी, प्रशिक्षक समूह र समर्थकलाई उपाधिको शुभकामना दिँदै आर्सनल उपाधिको योग्य टोली रहेको बताएका छन् ।
२०- राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो । यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक पुगेको छ । अब राजस्थानले आफ्नो अन्तिम खेल जितेमा प्लेअफमा पुग्ने छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् । राजस्थानले अब अर्को खेल आइतबार मुम्बई इण्डियन्सविरुद्ध खेल्दैछ । त्यस्तै लखनउको भने यो यस सिजनमा नवौं हार हो । १३ खेलमा केवल ८ अंकसहित लखनउ पुछारमा रहेको छ ।