• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रतिकुल बकपत्र गर्नेविरुद्ध अख्तियारबाट विशेष अदालतमा मुद्धा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकुल बकपत्र गरेका सुर्खेतका टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८२–सीआर–००२७ मा नेपाल सरकारका तर्फबाट दायर गरिएको वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको मुद्धामा घर्तिले बयान बदलेर कार्कीलाई सहयोग गरेको अख्तियारको आरोप रहेको छ ।

आयोगका अनुसार घर्तीलाई अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायबाट पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो । तर उनले विशेष अदालत, काठमाडौँमा गत माघ २२ गते दिएको बयान पहिलेको प्रमाण र विवरणसँग मेल नखाने गरि दिएका थिए ।

अनुसन्धानबाट देउतीबज्यै निर्माणका सञ्चालक समेत रहेका घर्तीले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी सहज बनाउनका लागि टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको ठहर गर्दै घर्तीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस