• २०८३ कार्तिक ३ गते सोमवार

रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानलाई नेपालको २८१ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २, काठमाडौं । देव खनाल, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा ओमानलाई २८१ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा २ चौका र २ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए। ओपनर देव खनालले ६५ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५७ रन जोडे। नेपालले ९९ रनमा ३ विकेट गुमाएको अवस्थामा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। एक समय २३८ रनमा ३ विकेटको अवस्थामा रहेको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। अन्तिमतिर बसिर अहमदले आक्रामक ब्याटिङ गर्दै ७ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए।

ओमानका लागि शाह फैसलले ८ ओभरमा ५७ रन खर्चेर ५ विकेट लिए। जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट हात पारे।

नेपाललाई शीर्ष ६ मा उक्लिने अवसर 
विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ। सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल त्यसपछि क्यानडासँग पराजित भएको थियो। नेपालसँग पराजित भएपछि क्यानडा ३६ खेलमा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलमा २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको थियो। ओमानविरुद्ध जित निकाल्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ।

लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ।

Sharing

प्रतिक्रिया दिनुहोस