• २०८३ भाद्र ३ गते बुधवार

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३, काठमाडौं ।  संयुक्त राष्ट्रसंघका पूर्व निर्देशक, अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ तथा परराष्ट्र मामिला जानकार भाइराजा पाण्डेले भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उच्च पदस्थ अधिकारीसँग प्रश्न गर्नु उनीहरूको संवैधानिक तथा संसदीय जिम्मेवारी भएको बताए । ‘संसदीय समितिको भूमिका, सुरक्षा निकायमाथि गरिएको व्यवहार र उत्पन्न विवाद’ विषयमा सजग समूहले आयोजना गरेको समसामयिक राजनीतिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पाण्डेले संसदीय सुनुवाइमा सांसदहरूले उच्च पदमा रहेका व्यक्तिलाई प्रश्न गर्न पाउने बताए ।

उनले संसदीय सुनुवाइलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्दै बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरको उदाहरण प्रस्तुत गरे । इराकमाथि भएको अमेरिकी नेतृत्वको सैन्य कारबाहीका क्रममा बेलायत पनि सहभागी भएपछि ब्लेयरले संसदीय प्रश्नको सामना गर्नुपरेको उनको भनाइ थियो । त्यसैगरी अमेरिकाको वाटरगेट प्रकरणमा पनि संसदीय छानबिनले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनमाथि दबाब सिर्जना गरेको उनले उल्लेख गरे ।

पाण्डेले नेपालमा पनि उच्च पदस्थ अधिकारीमाथि संसदीय समितिले प्रश्न उठाउनु स्वाभाविक भएको बताए । ‘सांसदले प्रश्न सोध्यो भन्दैमा आईजीपीले रिसाउनुपर्ने कारण छैन,’ उनले भने, ‘सांसदको काम नै प्रश्न सोध्ने हो ।’

उनले सुरक्षा निकायको भूमिकामाथि समेत प्रश्न उठाए । विशेषगरी प्रदर्शनका क्रममा भएका मृत्यु, भीड नियन्त्रणका लागि अपनाइने सुरक्षा रणनीति तथा गोली चलाउने विषयमा प्रहरीलाई आवश्यक तालिम र निर्देशन दिइएको थियो कि थिएन भन्ने प्रश्न संसदीय समितिले गर्न सक्ने उनले बताए ।

‘जसको बच्चा गयो, तिनीहरूका बाउआमाको मर्यादा छैन ?’ पाण्डेले प्रश्न गर्दै भने, ‘गोली कसरी हान्ने र क्राउड कसरी कन्ट्रोल गर्ने भन्ने सिकाउने जिम्मेवारी कसको हो ? त्यो किन नसिकाएको ? ती कुरा हामीले आईजीपीलाई सोध्न मिल्दैन ?’

नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणमा प्रहरीसहित राज्यका सबै निकायको जिम्मेवारी हुने बताए । उनले राज्यका विभिन्न अंगमा भ्रष्टाचार रहेको भन्ने धारणा अन्त्य गर्न सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

पाण्डेले उच्च पदमा रहेका व्यक्तिमाथि प्रश्न उठ्दैमा त्यसलाई व्यक्तिगत मानहानिका रूपमा लिन नहुने धारणा राखे । छानबिनका क्रममा आफू निर्दोष भए प्रमाणित गरेर पुनः जिम्मेवारीमा फर्कन सकिने उनको तर्क थियो ।

उनले वर्तमान सरकारमा रहेका युवा पुस्ताका नेताहरूविरुद्ध व्यक्तिगत रूपमा भ्रष्टाचार गरी पैसा खाएको आरोप आफूले नसुनेको बताए । व्यक्तिगत शक्तिको दुरुपयोग भएको हुनसक्ने भए पनि आर्थिक भ्रष्टाचारको आरोप नदेखिएको उनको भनाइ थियो ।

नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय र वित्तीय संस्थाहरूको विश्वास कमजोर हुँदै गएको दाबी गर्दै पाण्डेले देशलाई त्यस अवस्थाबाट बाहिर निकाल्न सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस