जेठ ५, काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भयेक्ला छन् । आइतबार हुने एस्टन भिल्लाविरुद्धको खेलपछि उनले क्लब छोड्ने भएका हुन् । क्लबभित्र भने उनको बिदाइको तयारी सुरु भइसकेको बताइएको छ । खेलाडी र कर्मचारीहरू पनि उनी जाने सम्भावनालाई लिएर मानसिक रूपमा तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पूर्व चेल्सी प्रशिक्षक एनजो मारेस्का ग्वार्डिओलाको स्थान लिन अग्रपंक्तिमा रहेको नामका रूपमा हेरिएका छन् । उनी यसअघि सिटीमै ग्वार्डिओलाको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।
५५ वर्षका ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई १० वर्षमा २० ठूला उपाधि दिलाएका छन् । यसमा छ पटक इंग्लिस प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिग, तीन पटक एफए कप र पाँच पटक लिग कप समावेश छन् । यस सिजन पनि उनले एफए कप र काराबाओ कप जिताइसकेका छन् ।
सन् २०१६ मा म्यानचेस्टर सिटी आएका ग्वार्डिओलाले क्लबलाई अंग्रेजी फुटबलको शक्तिशाली टोली बनाएका हुन् । उनले सन् २०१७–१८ मा एक सिजनमै १०० अंकसहित लिग जित्दै कीर्तिमान बनाएका थिए ।
सन् २०२२–२३ मा सिटीले लिग, एफए कप र च्याम्पियन्स लिग जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । त्यसपछि लगातार चार सिजन लिग जित्ने पहिलो क्लब बन्ने कीर्तिमान पनि सिटीकै नाममा छ ।
ग्वार्डिओलाले प्रशिक्षक यात्रा बार्सिलोनाबाट सुरु गरेका थिए, जहाँ उनले लगातार तीन लिग उपाधि र दुई पटक युरोपेली उपाधि जिताएका थिए । त्यसपछि उनले बायर्न म्युनिखमा तीन सिजन लगातार लिग उपाधि जिताएर सन् २०१६ मा सिटी सम्हालेका थिए ।