भदौ २, काठमाडौं । फूलको आँखामा फूलै संसार बोलको हिट गीतकी गायिका आनी छोइङ डोल्माले दिवंगत दुर्गालाल श्रेष्ठकै गीतका कारण आफू विश्वभर परिचित भएको प्रतिक्रिया दिएकी छन् । संगीतज्ञ र कविका रुपमा परिचित श्रेष्ठले नै रचना गर्नुभएको फूलको आँखामा फूलै संसार बोलको गीतमा आफूले स्वर दिन पाएको र सोही गीतले विश्वमा चिनाएको उनको भनाइ थियो । ९३ वर्षको उमेरमा आइतबार राति बूढानीलकण्ठस्थित निवासमा निधन हुनुभएका श्रेष्ठसँग आफूले ६० वटाजति गीतमा काम गरेको पनि आनी छोइङले बताइन् ।
‘यो गीत जहाँ जस्तो अवस्थामा हिडेपनि गुन्जिन्छ । सबैले इन्जोइ लिइरहेका हुन्छन् । धेरैका लागि ज्ञानवद्र्धक गीत बनेको छ । हरेक घरका अभिभावकहरुले पनि आफ्ना बच्चाहरुलाई यही गीत गाउन प्रेरित गरिरहेका छन् । सोही गीतले आज मलाई विश्वले चिनेको छ,’ उनले भनिन् ।
श्रेष्ठका गीतहरु सरल भाका र शब्दमा हुने भएकाले सबैले मन पराउने गरेको उनले सुनाइन ।
आनी छोइङले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्,‘मेरो जीवनको एक अत्यन्तै अमूल्य व्यक्तिको निधनले मलाई गहिरो दुःख लागेको छ । हाम्रा अति प्रिय र आदरणीय दुर्गा लाल श्रेष्ठ ज्यू, नेपाली साहित्यका एक अति नै प्रिय र कहिल्यै अभाव पूर्ति गर्न नसकिने व्यक्तित्व हुनुहुन्थ्यो, साथै मेरो जीवन र हाम्रो राष्ट्रको लागि एक अमूल्य निधि हुनुहुन्थ्यो ।
उहाँ ‘फूलको आँखामा’ र मेरा धेरै मनपर्ने नेपाली गीतहरूपछाडिको काव्यात्मक हृदय हुनुहुन्थ्यो। कविता, गीत र बालसाहित्य मार्फत उहाँले दिनुभएको दशकौँको योगदानलाई नेपाली जनमानसका कैयौँ पुस्ताले गहिरोसँग सँगालेर राख्नेछन्। उहाँको परिवार र प्रियजनहरूप्रति मेरो गहिरो समवेदना छ। मेरो जीवनमा उहाँका सुन्दर गीतहरूको आशीर्वाद प्राप्त भएकोमा म सदैव आभारी रहनेछु ।’
श्रेष्ठको मंगलबार दिउँसो काठमाडौंको शोभा भगवतीमा अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ ।
