• २०८३ जेष्ठ ४ गते सोमवार

जोसे मोरिन्हो पुन: रियल म्याड्रिडको मुख्य प्रशिक्षक बन्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ४, काठमाडौं । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो पुनः स्पेनिस क्लब रियल म्याड्रिडको मुख्य प्रशिक्षक बन्ने भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोरिन्हो र रियल मड्रिडबीच मौखिक सहमति भइसकेको छ ।

रियल म्याड्रिडले लगातार दोस्रो वर्ष प्रशिक्षक परिवर्तन गर्न लागेको हो । जनवरीमा जावी आलोन्सोको स्थानमा आएका आल्भारो अर्बेलोआलाई क्लबले निरन्तरता नदिने निर्णय गरेपछि मोरिन्होलाई नयाँ प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाइएको हो ।

रिपोर्टअनुसार क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत महिनादेखि नै मोरिन्होलाई प्राथमिक रोजाइमा राखेका थिए । पछिल्ला केही दिनयता दुवै पक्षबीच औपचारिक छलफल तीव्र बनेको थियो । मोरिन्होले पनि १३ वर्षपछि पुनः रियल म्याड्रिड फर्कने इच्छा स्पष्ट रूपमा व्यक्त गरेका थिए । उनले आगामी साता एथलेटिक क्लबविरुद्धको सिजनको अन्तिम खेलपछि म्याड्रिड पुगेर दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । उनले रियल म्याड्रिडमा शुरुमा दुई बर्षको सम्झौता गर्न लागेको बताइएको छ ।

सन् २०२४ मा च्याम्पियन्स लिग जितेपछि रियल म्याड्रिडले कुनै ठूलो उपाधि जित्न सकेको छैन । कार्लो एन्सेलोटी, जाभी आलोन्सो र आल्भारो अर्बेलोआ गरी तीन प्रशिक्षक परिवर्तन भए पनि क्लबले अपेक्षित सफलता हासिल गर्न सकेन ।

यसबीच क्लबभित्र आन्तरिक तनाव पनि बढ्दै गएको बताइएको छ । केही साताअघि औरेलियन चुआमेनी र फेडे भाल्भेर्डेबीच विवाद भएपछि टोलीभित्रको अवस्था थप तनावपूर्ण बनेको थियो ।

रियल म्याड्रिड व्यवस्थापनले मोरिन्हो टोलीलाई पुनः एकताबद्ध गर्दै सफलताको बाटोमा फर्काउन सक्षम प्रशिक्षक हुने विश्वास गरेको छ ।

मोरिन्हो हाल पोर्चुगलको क्लब बेनिफिकाको प्रशिक्षक रहेका छन् । उनी यसअघि २०१० देखि २०१३ सम्म रियल म्याड्रिडको प्रशिक्षक थिए । उनी त्यति बेला प्रशिक्षक हुदा २०११-१२ को ला लिगाको उयाधिसहित एक कोपा डेल रे र स्पेनको सुपर कोपाको उपाधि जितेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस