वैशाख ५, बिराटनगर । बजारमा लोकप्रिय ‘गुडलाइफ’ ब्रान्डअन्तर्गत उत्पादन हुने ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको गम्भीर उजुरीपछि सम्बन्धित उत्पादक कम्पनीमाथि कडा कारबाही गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताबाट आएको गुनासोका आधारमा छानबिन गर्दा उक्त आरोप पुष्टि हुने संकेत भेटिएपछि एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.लाई २ लाख रुपैयाँ जरिवाना गरिएको जनाएको छ।

विभागका अनुसार, एक उपभोक्ताले बिस्कुटभित्र रौँ परेको भन्दै औपचारिक उजुरी दर्ता गरेका थिए। सोही उजुरीको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले सुनसरीको दुहबीस्थित उत्पादन उद्योगमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा विवादित बिस्कुटको नमुना संकलन गरी परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा पठाइएको थियो। प्रारम्भिक तथ्य र अनुसन्धानका आधारमा कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको ठहर गर्दै कारबाही अघि बढाइएको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले ऐनको दफा ३८ (ङ) अन्तर्गत कसुर ठहर गर्दै दफा ३९ (१) (ख) अनुसार २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाएको छ। विभागले कम्पनीलाई सात दिनभित्र जरिवाना रकम बुझाएर प्रमाण पेश गर्न निर्देशन दिएको छ।