असोज ३१, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न उनकाे घरमा प्रहरी पुगेकाे छ । स्राेतका अनुसार कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । तर पत्रकार श्रेष्ठले भने आफूलाई समाचारकै विषयमा साेधपुछ गर्ने क्रममा प्रहरी आफ्नाे घरमा आएकाे बताए ।

रास्वपा नेता समेत रहेका कलाकार पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो ।
श्रेष्ठको पक्राउपछि नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले आपत्ति जनाएका छन् । ‘जनआस्थामा छापिएको समाचारको विषयलाई लिएर प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु निन्दनीय छ । समाचारको विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो भन्ने अहिलेको सरकारलाई जानकारी रहोस्,’ दाहालले सामाजिक संजालमा लेखेका छन् ।
यसैगरी दाहालले नेपाल न्यूज बैंकसँग कुरा गर्दै श्रेष्ठलाई पक्राउ गर्न प्रहरी यतिखेर उनकाे घरमा पुगेकाे जानकारी दिए । उनका अनुसार अवस्था अध्यन गर्न नेपाल पत्रकार महासंघकाे टाेली श्रेष्ठकाे घर गएकाे छ ।