असोज ३१, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्राकृतिक विपद्को पीडा, युवाहरू विदेशिनुपर्ने बाध्यता, आर्थिक अवस्था र सुशासनको विषयमा चर्चा गरेका छन् ।

विगतका भूकम्प, महामारी तथा आन्दोलनपछिका असहज परिस्थितिको स्मरण गर्दै उनले यस वर्षको विपद्प्रति गहिरो दुःख व्यक्त गरे । उनले भने, ‘यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दशैं आइपुगेको छ । ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनातर्फ काम गरिरहेको छ ।’
दशैंलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको पर्वका रूपमा व्याख्या गर्दै उनले भने, ‘विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादशैंले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् । आर्थिक गतिविधिका हिसाबले समेत बडादशैं नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ ।’
रोजगारीका लागि युवाहरू विदेशिनुपरेको तीतो यथार्थलाई औंल्याउँदै उनले चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गएको बताए ।
उनले भने, ‘पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको छ। चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै परदेशमा रित्तो निधार लिएर बस्न बाध्य लाखौँ नेपालीहरूको नियति बदल्न हामी सबैको हातेमालो आवश्यक छ । सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ ।’
दशैं कसैका लागि पनि आर्थिक बोझ बन्न नहुने भन्दै उनले नागरिकको आर्थिक सम्पन्नता र मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार अहोरात्र खटिरहेको बताए । आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गरी सभ्य र भव्य रूपमा दशैं मनाउन पनि उनले सबैमा आह्वान गरे ।