असोज १, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार जिल्ला भक्तपुर, साविक ताथली गाविस–६ (हाल चाँगुनारायण नगरपालिका–२) स्थित कित्ता नं. २७ लगायतका ४८ कित्ता जग्गा हकबन्दी कायम भई बिक्री–वितरण गर्न नमिल्ने अवस्थाको जानकारी हुँदाहुँदै बिक्री गर्ने भन्दै बैना कागज गरी ठूलो रकम ठगी गरेको आरोपमा प्रतिवादी पक्राउ परेका हुन्।

जग्गा बिक्री गर्ने भन्दै बैना कागज गरी बैना बापत ५ करोड ४० लाख ९६ हजार ९ सय ४० रुपैयाँ रकम लिई ठगी गरेको सम्बन्धमा जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त ठगी मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–३ घर भई बस्ने ७० वर्षीय किरण बैद्यलाई पक्राउ गरिएको हो।
बैद्यलाई काठमाडौं महानगरपालिका–१, नक्सालबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरी उपरीक्षक/प्रवक्ता तथा सूचना अधिकारी दानबहादुर थापाले पक्राउबारे जानकारी दिएका छन्।
