असोज १, बाजुरा। बाजुराका चेतन अयडीको हत्या अभियोगमा ६ जनालाई जन्मकैदको फैसला सुनाइएको छ भने १८ जना प्रतिवादीले सफाइ पाएका छन्। बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार यस्तो फैसला सुनाएको हो। पुर्पक्षका लागि थुनामा रहेका सात जनामध्ये छ जनालाई जन्मकैद र एक जनालाई सफाइ दिइएको हो।

अदालतले धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी र जीवन अयडीलाई जन्मकैदको सजाय सुनाएको छ। यस्तै, चार वर्षदेखि पुर्पक्षका क्रममा थुनामा रहेका पदम अयडीले भने सफाइ पाएका छन्। अदालतको फैसलासँगै उनी थुनामुक्त हुने भएका छन्।
यसै मुद्दामा प्रतिवादी बनाइएका १८ जनालाई अदालतले सफाइ दिएको छ। सफाइ पाउनेमा मंगल भन्ने मदनबहादुर अयडी, निरजबहादुर अयडी, नरबहादुर अयडी, उद्धवबहादुर अयडी, रतनबहादुर अयडी, अनिता रौले अयडी, मोहनबहादुर अयडी, नवीनबहादुर अयडी, ईश्वरीदेवी अयडी, धनादेवी अयडी र नरेशबहादुर अयडी रहेका छन्। उनीहरू यसअघि धरौटीमा रिहा भएका थिए।
त्यसैगरी साधारण तारिखमा रहेका भूपाल अयडी, चक्र अयडी, रुपा चौधरी अयडी, जुद्ध अयडी, रनसिंहबहादुर अयडी र विनोद अयडीले पनि सफाइ पाएका छन्।
निर्वाचनका क्रममा भएको थियो हत्या
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौंमा चेतन अयडीको हत्या भएको थियो। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेतासमेत रहेका चेतनलाई निर्वाचनका क्रममा प्रतिवादीहरूले घर घेराउ गरी कुटपिट गरेको अभियोग लगाइएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका चेतनको उपचारका क्रममा मृत्यु भएको थियो।
घटनापछि प्रहरीले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। त्यसपछि उनीहरूमाथि जिल्ला अदालतमा हत्या अभियोगमा मुद्दा दायर भएको थियो। अभियोगपत्रमा केही प्रतिवादीलाई आजीवन कारावास तथा अन्य प्रतिवादीलाई जन्मकैदको सजाय माग गरिएको थियो।
दुई दिनसम्म भएको थियो बहस
चेतन अयडी हत्या मुद्दामा बुधबार र बिहीबार लगातार दुई दिन बहस भएको थियो। मृतकका बुबा तथा जाहेरवाला गगन अयडीका तर्फबाट सरकारी वकिलसँगै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए। अभियुक्तहरूको तर्फबाट अधिवक्ता जगत बमलगायतले बहस गरेका थिए।
दुई दिनको बहसपछि जिल्ला अदालतले बिहीबार ६ जनालाई जन्मकैद र १८ जनालाई सफाइ दिने फैसला सुनाएको हो।