असोज १, काठमाडौँ । सामाजिक अभियन्ता तथा कानुनविद् रञ्जन शर्मा खनालले विदेशमा रहेका वंशजका नेपाली नागरिकको नागरिकता अधिकार सुनिश्चित गर्न संविधान र नागरिकता ऐनमा आवश्यक संशोधन गर्नुपर्ने बताएका छन् । ललितपुरको बागलामुखी मन्दिर परिसरमा आयोजित गैरआवासीय नेपालीका अभिभावकको राष्ट्रिय भेला तथा छलफल कार्यक्रममा बोल्दै उनले विदेशमा रहेका नेपालीको देशसँगको सम्बन्ध नागरिकताभन्दा पनि रगत र वंशसँग जोडिएको विषय भएको बताए ।

उनले विदेशमा रहेका करिब एक करोड वंशजका नेपालीले अहिले पनि नेपालप्रति चासो र चिन्ता राखेर बसिरहेको बताए ।उनले भने, ‘हामी देशभित्रै देश खोज्दै छौँ । एक करो ड वंशजका नागरिकहरू अहिले पनि विदेशमा ‘नेपाल’ भनेर रातभर नेपालका बारेमा चिन्ता लिइरहनु भएको छ ।’ उनीहरूलाई नेपालसँग जोड्ने वातावरण बनाउनुपर्ने उनले बताए । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणाअनुसार विदेशिएका वंशजका नेपालीलाई नेपाल फर्कने वातावरण बनाउनुपर्ने उनले बताए ।
खनालले विदेशबाट आएका विभिन्न अभियन्ता तथा व्यक्तिहरूको सहभागितालाई उदाहरण दिँदै विदेशमा रहेका नेपालीहरू नेपालको विषयमा निरन्तर चासो राखिरहेको बताए । उनले नागरिकता अधिकारको विषयलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताए ।
उनले नेपालका प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेतृत्वप्रति आलोचनात्मक टिप्पणी गर्दै विदेशमा रहेका वंशजका नेपालीको नागरिकता अधिकार कमजोर पार्ने काम राजनीतिक नेतृत्वबाट भएको आरोप लगाए ।
वंशजको नागरिकतालाई मौलिक अधिकारका रूपमा व्याख्या गर्दै संविधानमै व्यवस्था भएकाले नागरिकता ऐनमा मात्रै संशोधन गरेर समस्या समाधान नहुने उनले बताए । संविधान संशोधनमार्फत विदेशमा रहेका वंशजका नेपालीको अधिकार स्पष्ट रूपमा सुनिश्चित गर्नुपर्ने उनले बताए ।
उनले विगतमा राज्यले विदेशमा रहेका नेपालीलाई नेपाल फर्किन आह्वान गरेको बताए । उनले नेपालमा रहेका तथा विदेशिएका नेपालीबीचको सम्बन्धलाई थप बलियो बनाउन राज्यले स्पष्ट नीति लिनुपर्ने बताए ।