• २०८३ भाद्र १ गते सोमवार

‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १, काठमाडौं ।  सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने सिनेमा ’एक्का मिस्सी बादशाह’को लागि कलाकार आह्वान गरिएको छ । निर्माण टिमले एक पोस्टरमार्फत सिनेमाका लागि दुई मुख्य पुरूष कलाकार आह्वान गरेको हो । सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् । उनी सिनेमामा ’आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनै साम्राज्ञीको अपोजिटमा काम गर्ने दुई मुख्य पुरूष कलाकारको खोजी गरेको हो ।

दुवै पात्रले पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावना उतार्न सक्ने कलाकारको खोजीमा रहेको र ती कुरामा पोख्त कलाकारले नै प्राथमिकता पाउने निर्माण टिमले बताएको छ । कलाकारबारे पोस्टरमा लेखिएको छ, ‘हामी यस्ता कलाकारहरूको खोजीमा छौं जसले पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावनाहरू उतार्न सकून्।’

कृष र अर्जुन पात्रका लागि २५ देखि ३५ वर्ष उमेर समूहका कलाकारको अडिसन आह्वान गरेको पोस्टरमा उल्लेख छ । पोस्टर अनुसार कृष परिस्थितिवश विशेष सुविधा पाएको र अपेक्षाको भारी बोकेर जन्मेको भएपनि, आफूलाई कुनै निश्चित परिभाषामा सीमित राख्न अस्वीकार गर्ने पात्र हुनेछ भने अर्जुन दबाबमा काम गर्ने, सधैं जिम्मेवार र सीमितताभन्दा पर सोच्ने पात्र हुनेछ ।

अडिसनमा सहभागी हुन इच्छुक कलाकारले पोस्टरमा राखिएको क्यूआर कोडमार्फत फाराममा भर्न सक्नेछन् भने फाराम तोकिएको प्रक्रियाअनुसार आफ्नो अडिसन भिडियो बुझाउनुपर्नेछ । आवेदन बुझाउने अन्तिम मिति यही भदौ १४ गते अर्थात ३० अगस्ट २०२६ सम्म रहेको छ ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको सिनेमा युवापुस्ताको कथामा आधारित बन्नेछ । डेब्यु निर्देशक राईले साउन ९ गते काठमाडौंमा भव्य कार्यक्रम गर्दै सिनेमा निर्माण घोषणा गरेका थिए । सिनेमा उनकै लगानीमा बन्नेछ ।

सिनेमामा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् ।

सिनेमाको छायांकन आगामी फागुनबाट सुरु हुनेछ । नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमामा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस