• २०८३ भाद्र १ गते सोमवार

देशभरका विभिन्न मुख्य राजमार्गमा अवरोध, दर्जनौँ सडकखण्ड प्रभावित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १, काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार २०८३/०५/०९ गते बिहान ६:३० बजेसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग र संखुवासभाको भोटखोला गाउँपालिका–३ सिरकडाँडास्थित खाँदबारी–किमाथांका सडक पूर्णरूपमा अवरुद्ध छन्।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण निश्चित समयसम्म सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको हेटौँडा–डिङ्गन–बागमती–ललितपुर सडकखण्डमा पनि सम्भावित बाढी तथा पहिरोका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी र लिपिङ तथा रसुवाको त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्। धादिङको पृथ्वी लोकमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ चालिसेमा पनि सडक अवरुद्ध भएको छ।

गण्डकी प्रदेशमा बागलुङका दुई सडकखण्डमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ भने मुस्ताङको बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशमा प्युठानको स्वर्गद्वारी नगरपालिका–२ रुमालेस्थित भिङ्ग्री–स्वर्गद्वारी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकका दुई स्थानमा बाढी तथा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छन्। सल्यानको राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–४ अरिङ्गालेमा पहिरोका कारण यातायात पूर्णरूपमा रोकिएको छ।

प्रहरीले सडकको अवस्था हेरेर आवश्यक सावधानी अपनाउन तथा अवरुद्ध सडकखण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ।

May be an image of text

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस