• २०८३ बैशाख १४ गते सोमवार

आफैँले बनाएको संविधान ‘कू’ हुँदा पनि सुवास नेम्वाङ चुइँक्क बोल्नु भएन : गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुष २२, काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताउनुभएको छ ।

संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको आरोप छ । यस्तो संकटका बेला तत्कालीन संविधान सभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै जमेर बहस गर्नुपर्ने थापाले बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा थापाले लेख्नुभएको छ । ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर(श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नु हुनेछ, अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ। प्रश्नबाट भाग्नुभएको छ। आफैँले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

 ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरू हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।’

संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस