जेठ ३, जनकपुर । प्रत्येक ३ वर्षमा मलेमास (पुरुषोत्तम मास)मा लाग्ने मेला आजबाट सुरु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका खुट्टा पिपरारी स्थित धनुषा र महोत्तरीको सिमामा रहेको रामायणकालिन ईतिहास बोकेको गेरुका नदिमा आजदेखि १ महिने गेरुका स्नान (मेला) सुरु भएको छ ।

आइतबार बिहान जनकपुरधामको जानकी मन्दिरको अगुवाईमा राम र सीताको स्वरुपलाई गेरुका नदिमा लगेर पूजासमेत गरिएको छ । मिथिला महात्मेमा उल्लेख भएअनुसार माता सीता गेरुका नदिमा स्नान गर्ने गर्थिन । मलेमासका बेला यहाँ स्नान गर्नाले जानी नजानी गरिएका पापहरुबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । गेरुका स्नान गर्न मधेश प्रदेशका ८ वटै जिल्लाका श्रद्धालुभक्तजनसहित सीम पार भारतबाट पनि श्रद्धालुहरु आउने गर्छन । एक महिना भरिमा लाखौं श्रद्धालुभक्तजनहरु यहाँ आएर स्नान गर्ने गर्छन ।
‘यस ऐतिहासिक गेरुका नदिमा गरिने स्नान प्रति श्रद्धालुहरुको मनमा यति धेरै आस्था रहेको छ कि बिना प्रचार प्रसार नै लाखौं भक्तजन यहाँ स्नान गर्न आउछन्’, स्थानीय पिपरारीबासी हरिसचन्द्र यादवले बताए ।
उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले प्रचार प्रसार गर्ने तर्फ ध्यान दिए यस स्थानलाई भारतको कुम्भ मेला झैँ धार्मिक स्थलको रुपमा परिणत गर्न सकिन्छ ।
कन्तावाँ नदी र उत्तरवाहिनी नदीको संगमस्थलमा पूर्वकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आएको छ । यस वर्षको मेला जेठ ३ गतेदेखि सुरु भई पूरा महिनाभर सञ्चालन हुनेछ । विशेषगरी आइतबार र मंगलबार श्रद्धालु भक्तजनको बढी सहभागिता हुन्छ । धार्मिक मान्यताअनुसार गेरुका धामको पवित्र जलाधारमा स्नान गरी भगवान पुरुषोत्तमको पूजा आराधना गरे अक्षय पुण्य प्राप्त हुन्छ ।