मङ्सिर १९, उदयपु । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।
बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास जन्मकैद जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको हो ।
यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताउनुभयो । हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।
शिकारीले छाडेको बन्दुक पड्केर मृत्यु
बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बाँस्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार बाँस्तोलाको मृत्यु शिकारीले छाडेको बन्दुक बोकेर कार्यालयमा ल्याउने क्रममा पड्केर मृत्यु भएको हो । मृतकका आफन्तले बिहीबार रातिसम्म पनि शव बुझ्न नमानेका साहले बताउनुभयो ।
घटनापछि बिहीबार सुनसरी दुहबी घर भएका वनरक्षक बाँस्तोलाका आफन्तलाई बोलाइएको र घटनाबारे जानकारी गराएर प्रहरी र वनका कर्मचारीले शव बुझ्न आग्रह गरे पनि मृतकका आफन्तले शव बुझ्न नमानेपछि बिहीबार रातिसम्म शव कार्यालयमै रहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।