• २०८३ कार्तिक ३० गते आइतवार

सङ्गीतबाट अभिनयसम्मको यात्रा, सोनमका लागि ‘जलाकी’ किन विशेष ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक २९, काठमाडौं । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा उनी पुनः मुख्य भूमिकामा फर्किएका छन् । आगामी मंसिर ४ गते प्रदर्शनमा आउने सिनेमामा सोनमले ‘लाजिम’ पात्रको भूमिका निर्वाह गरेका छन् ।

सन् २०२५ जुनमा ढोरपाटनमा सिनेमा ‘ऐरी’ को एक्सन दृश्य छायांकन गर्ने क्रममा सोनमको देब्रे खुट्टा भाँचिएको थियो । दुर्घटनापछि हेलिकप्टरमार्फत उद्धार गरी उनलाई पोखरास्थित चरक मेमोरियल अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले कम्तीमा छ महिना पूर्ण आराम गर्न सल्लाह दिएपछि उनी ‘जलाकी’ बाट बाहिरिनुपरेको थियो ।

सोनम बाहिरिएपछि निर्माण टिमले मुख्य भूमिकाका लागि अभिनेता धीरज मगरलाई अनुबन्ध गरेको थियो । आफूले निकै मन पराएको कथाबाट अलग हुनुपर्दा उनी निराश थिए । तर, सिनेमासँग जोडिएर बस्ने चाहना भने कायम थियो ।

महिनौँको फिजियोथेरापीपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि निर्देशक अशोक थापा मगरले उनलाई ‘जलाकी’ मा सहायक भूमिकामा अभिनय गर्ने प्रस्ताव गरे । सिनेमामा पुनः जोडिन पाउँदा सोनम खुसी भए । यसैबीच छायांकनको तालिका पनि लम्बिँदै गयो र उनको खुट्टा पूर्ण रूपमा निको हुँदै गयो । अन्ततः निर्माण टिम र धीरज मगरबीचको आपसी समझदारीमा सोनम पुनः मुख्य भूमिकामा फर्किए ।

त्यो समय सम्झँदै सोनम भन्छन्, ‘सिनेमामा धीरजको आगमनले खुसी त थिएँ तर आफू नभएकोमा स्याड भएर बसिरहेको थिएँ । त्यही बेला अशोक थापा मगरले त्यही सिनेमाको सपोर्टिङ रोलमा खेल्ने अफर गर्नुभयो । त्यसले मलाई झन् खुसी दियो । त्यसमाथि सिनेमाको सुटिङ सेड्युल पनि तन्किँदै गएको रहेछ । मेरो खुट्टा पनि बिस्तारै निको हुँदै गयो । र साइडबाट फेरि लिड रोलमै म जोडिने मौका पाएँ ।’

सोनमका लागि ‘जलाकी’ दुर्घटनाबाट फर्किएको अवसर मात्र होइन, नेपाली समाज र संस्कृतिसँग थप नजिकिने माध्यम पनि हो । भारतको मनालीमा जन्मिएका उनले बाल्यकालका नौ वर्ष गुम्बामा बिताएका थिए । पारिवारिक जिम्मेवारीका कारण १० वर्षको उमेरमा सांसारिक जीवन रोजेका सोनमले संगीतबाट आफ्नो पहिचान बनाउन थाले ।

वि.सं. २०७२ सालको भूकम्पपछि ‘स्म्युल’ एपमा विभिन्न गीतका कभर गाएर उनी चर्चामा आएका थिए । ‘हवायें’, ‘जीना जीना’, ‘दिल दियाँ गलाँ’, ‘फिर भी तुमको चाहुँगा’ र ‘मिले हो तुम’ लगायत हिन्दी गीतका कभरले उनलाई श्रोतामाझ चिनायो ।

त्यसपछि नेपाली गीत ‘तिमी मेरो भविष्य’ तथा ‘ता सेर्पो’, ‘छोए डाङ्पा’, ‘छाम्गोन ताई सितुपा’ र ‘कुत्से तेन’ जस्ता तिब्बती तथा भुटानी गीतमार्फत उनले आफ्नो सांगीतिक यात्रालाई फराकिलो बनाए । संगीतकै क्रममा नेपाली सिनेमा ‘सम्हालिन्छ कहिले मन’ बाट उनले अभिनय यात्रा सुरु गरेका थिए ।

उक्त सिनेमाको ‘जरुरी कुरा छ’ गीतमा अभिनेत्री पूजा शर्मासँग देखिएको उनको जोडीले चर्चा पाएको थियो । पछिल्लो समय ‘जलाकी’ का ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’, ‘कलेजीको छेउ’ र ‘पहिलो माया’ जस्ता गीतमा उपासना सिंह ठकुरीसँगको उनको जोडी पनि दर्शकमाझ चर्चामा छ ।

नेपालमै रहेर नेपाली भाषा, कला र संस्कृतिसँग जोडिँदै आएका सोनमलाई अझै पनि कतिपयले बाहिरबाट आएको व्यक्तिका रूपमा हेर्ने गरेकोमा भने चित्त दुख्ने गरेको छ । त्यसैले उनी ‘जलाकी’ लाई नेपाली दर्शकमाझ आफ्नो पहिचान स्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन्छन् ।

सिनेमाको कथावस्तुबारे सोनम भन्छन्, ‘जलाकी मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा जरा गाडेको एक अर्गानिक प्रेमकथा हो । मगर संस्कृतिमा माया र सम्झनाको प्रतीक मानिने ढुंगाको स्तम्भ ‘जलाकी’ जस्तै यो सिनेमाले पनि दर्शकको मनमा गहिरो सम्झना छोड्नेछ ।’

आफूलाई अझै धेरै नेपाली दर्शकले नचिनेको बताउँदै उनी ‘जलाकी’ को कथा र पात्रले दर्शकको मनसम्म पुग्न मद्दत गर्ने विश्वास व्यक्त गर्छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जलाकी’ मा सोनमले अभिनयसँगै पार्श्व गायनमा पनि स्वर दिएका छन् । अशोक थापा मगरको निर्देशनमा बनेको सिनेमामा सोनमसँगै उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस