साउन १८, काठमाडौं । नेकपा एमालेले दार्चुला घटनामा भारतीय पक्षसँग जानकारी माग्न सरकारसँग माग गरेको छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटनाबारे भारतीय पक्षसँग जानकारी माग्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिँदो भेलमा वेपत्ता पार्ने गरी भएको अमानवीय घटनाको एमालेले निन्दा गरेको छ।
घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारवाही गर्न पनि एमालेले सरकारसँग माग गरेको छ। ‘दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिँदो भेलमा वेपत्ता पार्ने गरी घटित अमानवीय घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छु( बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ।
साउन १४ गते व्याँस गाउँपालिकास्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाका ३५ वर्षीय जयसिंह वेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइनको डोरी काटीदिँदा जयसिंह वेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् । तर भारतीय पक्षले भने एसएसबीको कुनै संलग्नता नभएको भन्दै नेपाललाई पत्र पठाएको छ।
बैठकले यही भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पनि पारित पनि गरेको छ। बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। ती प्रस्तावहरुलाई अन्तिम रुप दिन र विधान महाधिवेशनबारे अन्य आवश्यक निर्णय गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको पनि एमालेले जनाएको छ।