वैशाख २,मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा एकै दिन तीन वटा कार्यालयको स्थापना गरिएको छ । स्थानीय स्तरमै प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य सहित खत्याड गाउँपालिकाको रामतडीमा कार्यालय रहने गरि इलाका प्रशासन कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय उद्घाटन गरिएको हो । गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री , गाउँपालिका अध्यक्ष अज बहादुर शाही सुरक्षा निकायका प्रमुख, समाजसेवी अनिल बानियाँ, जनप्रतिनिधि लगायतको टोलीले कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मुगुमा नापी र मालपोत कार्यालय तथा केपि ओलि नेतृत्वको सरकारले खत्याडमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएर खत्याडमा इलाका प्रशासनसँगै नापी र मालपोत कार्यालय स्थापना गरेको हो । खत्याडका गाउँपालिकाका नागरिकहरुले हाल नागरिकता लगायतका कामका सदरमुकाम सदरमुकाम गमगढी बजार पुग्नु पर्ने बाध्यता रहेको थियो । अब पालिकामै प्रशासनिक कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले बताउनु भयो ।
त्यहाँका नागरिकहरुले नागरिकता बनाउन गमगढी पुग्नै ५ हजार देखि १० हजार बढि रुपैयाँ खर्च तथा लामो समय लगाउनु पर्ने बाध्यता रहेको थियो । खत्याड गाउँपालिका सडक सञ्जाल सँग जोडिएको छैन , अहिले पनि सवारी यात्रा गर्दा जुम्लाको सडक खण्ड भएर जानुपर्ने बाध्यता छ । सरकारले नागरिकहरुको सहजताका लागि खत्याडमै कार्यालय स्थापना गरेर उद्घाटन गरेसँगै अब सेवा प्रवाहमा सहजता हुने भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । अब त्याँहा नागरिकहरुले नागरिकता, राष्ट्रिय परिचयपत्र तथा नापी कार्यालय र मालपोत कार्यालयबाट हुने कामकाजका लागि गमगढी पुग्नु पर्ने बाध्यता हटेको छ । इलाका प्रशासन कार्यालय स्थापना गर्न लामो समयसम्म यहाँका जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला सहितको पहल कदमीपछि उक्त प्रक्रिया कांग्रेस–एमाले नेतृत्वको सरकारले नै अगाडि बढाएको थियो ।