फागुन ३, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्री तथा नेपाली सेना दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसले सबै नेपालीमा राष्ट्रप्रेम, कर्तव्यनिष्ठा र आपसी सहकार्यको भावना अझ सुदृढ बनाओस् तथा देशमा शान्ति, स्थायित्व, समृद्धि र प्रगतिका नयाँ सम्भावनाहरूको ढोका खुलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँको शुभकामना सन्देशमा भनिएको छ, “महाशिवरात्रीले आत्मशुद्धि, संयम, त्याग र सदाचारको मार्गतर्फ उन्मुख हुन प्रेरणा दिन्छ । पशुपतिनाथको रूपमा समेत पुकारिने भगवान् शिवको आराधनाबाट प्राप्त हुने आध्यात्मिक चेतनाले हाम्रो समाजमा शान्ति, सद्भाव, सहिष्णुता र एकताको भावना अझ सुदृढ होस् भन्ने कामना गर्दछु ।
आजकै दिन मनाइने नेपाली सेना दिवसले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणमा नेपाली सेनाले पुर्याउँदै आएको विशिष्ट योगदानको स्मरण गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ । यस अवसरमा राष्ट्रसेवामा समर्पित नेपाली सेनाका सम्पूर्ण सदस्यहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्दछु ।
महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसले सबै नेपालीमा राष्ट्रप्रेम, कर्तव्यनिष्ठा र आपसी सहकार्यको भावना अझ सुदृढ बनाओस् तथा देशमा शान्ति, स्थायित्व, समृद्धि र प्रगतिका नयाँ सम्भावनाहरूको ढोका खुलोस् भन्ने कामना गर्दछु ।”