• २०८३ कार्तिक २१ गते शुक्रवार

मुख्यमन्त्री खगराज भट्टसँग डडेलधुरा उद्योग वाणिज्य संघको भेटघाट, विकास र पूर्वाधार निर्माणका विषयमा छलफल

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

भदौ २९, डडेलधुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसँग डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक महता नेतृत्वको टोलीले भेटघाट तथा छलफल गरेको छ। मुख्यमन्त्री भट्टकै निवासमा भएको भेटघाटका क्रममा डडेलधुराको समग्र विकास, उद्योग–व्यवसायको प्रवर्द्धन तथा आवश्यक पूर्वाधार निर्माणका विषयमा विस्तृत छलफल गरिएको हो।

भेटका क्रममा डडेलधुरा जिल्लाको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई गति दिन प्रदेश सरकारको तर्फबाट आवश्यक पहल र सहयोग हुनुपर्नेमा उद्योग वाणिज्य संघको टोलीले जोड दिएको थियो। जिल्लामा उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ। डडेलधुराको विकासका लागि सडक, खानेपानी, विद्युत्, पर्यटन पूर्वाधार, औद्योगिक क्षेत्र तथा बजार व्यवस्थापनलगायतका क्षेत्रमा थप लगानी र योजनाबद्ध विकास आवश्यक रहेको संघको टोलीले मुख्यमन्त्री भट्टसमक्ष राखेको थियो।

सो अवसरमा डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक महताले जिल्लाको समग्र विकास र निजी क्षेत्रको प्रवर्द्धनसँग सम्बन्धित विभिन्न माग तथा सुझाव समेटिएको मागपत्र मुख्यमन्त्री भट्टलाई बुझाएका थिए। मागपत्रमार्फत डडेलधुराका उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा जिल्लामा आवश्यक पूर्वाधार विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताइएको छ।

संघको टोलीले डडेलधुराको विकासमा निजी क्षेत्रलाई समेत साझेदारका रूपमा अघि बढाउँदै सरकार र व्यवसायीबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेको थियो। जिल्लाको आर्थिक गतिविधि विस्तार गर्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै डडेलधुराको समग्र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने संघको भनाइ थियो।

भेटघाटका क्रममा मुख्यमन्त्री खगराज भट्टले डडेलधुराको विकास तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको संघको टोलीले जनाएको छ। जिल्लाको विकासका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।

डडेलधुरा उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका समस्या र विकासका आवश्यकतालाई सम्बन्धित निकायसमक्ष निरन्तर उठाउँदै आएको छ। पछिल्लो भेटघाटलाई पनि जिल्लाको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने तथा आगामी दिनमा आवश्यक योजना र बजेटमा डडेलधुराका प्राथमिकतालाई समेट्न पहल गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस