भदौ २९, डोटी । डोटी उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरिएको छ। संघको पूर्वनिर्धारित निर्वाचन कार्यक्रमअनुसार २०८३ असोज ४ गते निर्वाचन सम्पन्न हुने कार्यक्रम रहेको छ। निर्वाचन समितिले २०८३ भदौ २८ गते दिउँसो १२ः३० बजे सूचना प्रकाशित गर्दै जिल्ला कार्यसमितिका विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। सार्वजनिक नामावलीअनुसार संघको अध्यक्ष पदमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

अध्यक्ष पदका लागि दिपकबहादुर खड्का, इन्द्रबहादुर कुँवर, प्रेमबहादुर भण्डारी र विरेन्द्र शाहले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेसँगै यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। उक्त पदका लागि दिर्घबहादुर साउँद, लोकबहादुर खड्का र चन्द्रराज पाठक चुनावी प्रतिस्पर्धामा रहेका छन्। संघको उपाध्यक्ष उद्योग पदमा रमेश बोहरा र नन्दराम भण्डारीले उम्मेदवारी दिएका छन्। यस पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ।त्यसैगरी, उपाध्यक्ष वाणिज्य पदमा तीन जनाको उम्मेदवारी परेको छ। उक्त पदका लागि लालबहादुर कठायत, गणेश बोहरा र लोकबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको यो प्रथम नामावली भएकाले निर्वाचन प्रक्रिया अघि बढ्दै जाँदा उम्मेदवारीमाथि दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा हुनेछन्। त्यसपछि निर्वाचनमा कायम रहने उम्मेदवारहरूको अन्तिम टुंगो लाग्नेछ। डोटी उद्योग वाणिज्य संघको निर्वाचनलाई जिल्लाका उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको नेतृत्व चयन गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। संघको नेतृत्वमा पुग्न उम्मेदवारहरूबीच प्रतिस्पर्धा बढेसँगै जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवर्द्धन, बजार व्यवस्थापन, लगानीको वातावरण निर्माण तथा व्यवसायीका समस्यालाई प्राथमिकतामा राख्ने विषयसमेत निर्वाचनको प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ।
संघको नयाँ नेतृत्वले डोटीका उद्योगी तथा व्यवसायीका साझा समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। निर्वाचनमा व्यवसायी मतदाताको सहभागिता र उनीहरूको मतले आगामी कार्यसमितिको नेतृत्व निर्धारण गर्नेछ।
