• २०८३ साउन २८ गते बिहिवार

एस्टन भिल्लालाई हराउँदै पिएसजीले जित्यो युरोपेली सुपर कप

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २८, काठमाडौं । पिएसजीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली सुपर कपको उपाधि जितेको छ । साल्जबर्गमा भएको रोमाञ्चक खेलमा पिएसजीले दोस्रो हाफमा निर्णायक गोल गर्दै उपाधि आफ्नो नाममा गरेको हो ।

पिएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले खेलको २०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि नै एस्टन भिल्लाले बराबरी गोल फर्कायो । १७ वर्षीय ब्रायन माड्जोले ४५औँ मिनेटमा जोन म्याकगिनको क्रसमा उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए ।

माड्जो सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका छन् । उनले पिएसजीविरुद्धको खेलबाटै प्रतियोगितामा पहिलोपटक खेल्ने अवसर पाएका थिए । एस्टन भिल्लामा आबद्ध भएपछि खेल्न पाउने विषयमा लामो समय कानुनी प्रक्रिया चलेको थियो । विश्व फुटबलको सर्वोच्च निकायले उनलाई खेलाडी दर्ता गर्न रोक लगाएपछि एस्टन भिल्लाले खेलकुदसम्बन्धी मध्यस्थता अदालतमा अपिल गरेको थियो । अगस्टको सुरुआतमा अपिल सफल भएपछि उनले प्रतिस्पर्धात्मक खेल खेल्ने बाटो खुलेको थियो ।

दोस्रो हाफमा पिएसजीले दबाब बढायो । खेलको ६२औँ मिनेटमा डेजिरे डुएले गोल गर्दै पिएसजीलाई फेरि अग्रता दिलाए । सुरुमा अफसाइडको आशंका गरिए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि गोललाई मान्यता दिइएको थियो । त्यसपछि एस्टन भिल्लाले बराबरीका लागि लगातार प्रयास गरे पनि पिएसजीका गोलरक्षक मातवे साफोनोभले केही महत्वपूर्ण बचाउ गरेका थिए ।

पिएसजीले गत वर्ष टोटनहमलाई पेनाल्टीमा पराजित गर्दै पहिलोपटक सुपर कपको उपाधि जितेको थियो । यसपटक एस्टन भिल्लालाई हराउँदै उसले लगातार दोस्रो उपाधि हात पारेको हो ।

यस खेलमा सोमालियाका उमर आर्तनले पनि इतिहास बनाए । उनी सुपर कपको फाइनल खेलाउने पहिलो गैरयुरोपेली रेफ्री बने । यसअघि उनलाई यसै वर्षको विश्वकपका लागि अमेरिका प्रवेश गर्न अनुमति दिइएको थिएन ।

Sharing

प्रतिक्रिया दिनुहोस