जेठ ३०, धनगढी । डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा टुँडिखेल खेलमैदानमा सुरु भएको डडेल्धुरा जिल्लास्तरीय स्कुल क्रिकेट च्याम्पियनसिप–२०२६ को पहिलो दिन माउन्टेन स्कुलले वैद्यनाथ माविलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको माउन्टेन स्कुलले १८.१ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनायो। प्रमोद जोशी र समीर ऐरले समान ३१–३१ रन बनाउँदा सम्पन्न थापाले २३ तथा कप्तान रिजन राईले १८ रनको योगदान दिए। वैद्यनाथ माविका हेमसिंह धामीले ३ विकेट तथा सुजन भण्डारी, हिमांश थापामगर र ज्ञानु भण्डारीले समान २–२ विकेट लिए।

१४३ रनको लक्ष्य पछ्याएको वैद्यनाथ मावि १२.१ ओभरमै १०३ रनमा समेटियो। कप्तान हिमांश थापामगरले २५ रन, ज्ञानु भण्डारीले १५ रन, दीपेन्द्र थापामगरले अविजित १३ रन तथा हेमसिंह धामीले १२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। माउन्टेन स्कुलका कप्तान रिजन राईले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने आरभ गुरुङ र प्रमोद जोशीले समान २–२ विकेट हात पारे।

यससँगै माउन्टेन स्कुलले प्रतियोगितामा ३९ रनको महत्वपूर्ण जित निकाल्दै विजयी सुरुवात गरेको छ। खेलमा ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका माउन्टेन स्कुलका कप्तान रिजन राई प्लेयर अफ द म्याच घोषित भए। उनलाई डडेल्धुरा जिल्ला खेलकुद समितिका अध्यक्ष जगत ऐरले पुरस्कार प्रदान गरेका थिए।
