• २०८३ जेष्ठ ३० गते शनिवार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २१ मिनेट

जेठ ३०, काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- वर्षायाममा सडक खन्ने कार्यले सडकको अवस्था थप बिग्रिने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न अनुमति नदिइने भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलले शनिबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । कार्यालयका अनुसार वर्षायाममा धारा, ढल, विद्युत्, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खनेपछि तत्काल मर्मत सम्भार गरी पूर्वावस्थामा ल्याउन कठिन हुने र यसले सडकमा थप क्षति पुर्‍याउने भएकाले यो निर्णय गरिएको हो । सूचनामा असार १ गतेदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गतका सडक डिभिजनहरूको कार्यक्षेत्रमा पर्ने कुनै पनि सडक खन्न स्वीकृति नदिइने उल्लेख गरिएको छ । त्यस्तै, अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ । कार्यालयले सडक संरक्षण र सुरक्षित आवागमनका लागि सबै सरोकारवाला तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरेको छ ।

२- इरानका पूर्व सर्वोच्च नेता अयोतुल्लाह अली खामेनीको अन्त्येष्टि आगामी जुलाई महिनामा गरिने भएको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार जुलाई ४ र ५ मा राजधानी तेहरानमा सर्वसाधारणका लागि श्रद्धाञ्जली तथा अन्तिम दर्शन कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि जुलाई ६ मा तेहरान र जुलाई ७ मा कुम सहरमा अन्त्येष्टि समारोह सम्पन्न गरिने जनाइएको छ । त्यसपछि जुलाई ९ मा मशहदमा अर्को विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ । सो कार्यक्रमपछि अली खामेनीलाई इमाम रेजाको दरगाह परिसरमा दफन गरिने बताइएको छ । अन्त्येष्टिसम्बन्धी विस्तृत कार्यक्रम इरानी सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको हो । विश्लेषकहरूका अनुसार खामेनीको अन्त्यष्टिमा २ करोडभन्दा बढी मानिस सहभागी हुनसक्ने अनुमान गरेका छन् । सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा करिब १ करोड मानिस सहभागी भएको बताइन्छ । त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए । खामेनीको अन्त्यष्टि गरिने शहर मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् । इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले ईरानका विभिन्न रणनीतिक क्षेत्रमा ठूलो सैन्य कारबाही गरेका थिए। तेहरानसहित धेरै ठाउँमा हवाई आक्रमण भएको थियो । त्यही क्रममा सर्वोच्च नेताको निवास र कार्यालय पनि निशाना बनाइएको दाबी गरिएको छ। आक्रमणका बेला उनी बंकरमा रहेका भए पनि गम्भीर रूपमा घाइते भई पछि मृत्यु भएको बताइएको छ । त्यस आक्रमणमा उनीसँगै धेरै वरिष्ठ सैन्य अधिकारी, सुरक्षा निकायका प्रमुख र अन्य उच्च अधिकारीहरूको पनि मृत्यु भएको दाबी गरिएको छ। परमाणु कार्यक्रमसँग सम्बन्धित केही वैज्ञानिकको पनि ज्यान गएको थियो ।

३- माइकल ज्याक्सनको जीवनीमा आधारित फिल्म ‘माइकल’ विश्वभर बक्स अफिसमा ठूलो सफलता हासिल गर्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ । यो फिल्म अहिलेसम्मकै सबैभन्दा बढी कमाइ गर्ने संगीत सम्बन्धी जीवनी फिल्म बनेको छ र यसले ‘बोहेमियन र्याप्सोडी’को रेकर्ड तोडेको हो । यो फिल्म २४ अप्रिलमा प्रदर्शनमा आएको थियो । प्रदर्शनपछि हालसम्म यसले विश्वभर करिब ९११.९ मिलियन अमेरिकी डलर कमाइ गरेको छ । यससँगै यसले ‘बोहेमियन र्याप्सोडी’को कुल ९१०.९ मिलियन अमेरिकी डलरको कमाइलाई पछि पारेको छ । विश्वव्यापी सफलतासँगै ‘माइकल’ घरेलु बक्स अफिसमा पनि सबैभन्दा बढी कमाइ गर्ने जीवनी फिल्म बनेको बताइएको छ । यस सफलताले निर्माता ग्राहम किङका लागि थप उपलब्धि जोडेको छ । उनले यसअघि ओस्कार जितेको ‘बोहेमियन र्याप्सोडी’ पनि निर्माण गरेका थिए । फिल्मका निर्देशक एण्टोनी फुक्वा हुन् । यसमा माइकल ज्याक्सनको भूमिकामा उनका भतिजा जाफर ज्याक्सन मुख्य भूमिकामा देखिएका छन् भने युवा माइकलको भूमिका जुलियानो क्रु वाल्डीले निभाएका छन् । यो फिल्मले ‘किङ अफ पप’ भनेर चिनिने दिवंगत माइकल ज्याक्सनको जीवन र सङ्गीत यात्रालाई प्रस्तुत गरेको छ । कथाले सन् १९८८ सम्मको उनको विश्वव्यापी सफलताको यात्रालाई केन्द्रमा राखेको छ ।

४- काठमाडौँ महानगरपालिकाले मनसुन पूर्व तयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छ । कार्यवाहक प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, यस वर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म बर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मानेर कार्ययोजना स्वीकृत गरेको हो । महानगरपालिकाका निर्देशक वसन्त आचार्यको अध्यक्षतामा गठित योजना तर्जुमा कार्यदलले तयार पारेको सम्भावित डुवान क्षेत्रको पहिचान र नक्साङ्कनका आधारमा कार्ययोजना बनाइएको हो । स्वीकृत कार्ययोजना कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित विभाग र जिम्मेवार तोकिएका अधिकारीहरुको तदरुकता अवको आवश्यकता हो । वैठकमा समितिका संयोजक डंगोलले भनिन्- ‘राम्रो कार्ययोजना कार्यान्वयन गर्न निरन्तर अभ्यास, स्पष्ट कार्य विभाजन, तोकिएका स्थानमा तोकिएका सामानको उपलब्धता, ती सामानमा सम्बन्धित अधिकारी वा समुदायको पहुँच सुनिश्चित गर्नु ।’ उनले सम्भावित डुवानको जोखिम घटाउन पूर्वाधार, सरसफाइ जस्ता तयारी नियमित सञ्चालन गर्न, समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन, विपदका समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न विभागलाई निर्देशन दिएकी छन् । कार्यदलले महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान गरेको छ । यसबाट करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान छ । विपद व्यवस्थापन विभागका प्रमुख एवं समितिका सदस्य सचिव अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं. १४ सबैभन्दा बढी जोखिममा देखिन्छ । डुवानबाट कतै धेरै स्थान र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ । वडा १४ सँगै वडा नं. १३, १५, २९, १०, १६,२६, ३२, १२ बढी जोखिममा देखिएको र डुवान हुने ठाउँका आधारमा वडा नंं ३० मा २१ ठाउँ, वडा नं. ४ र वडा नं. ३२ मा १०–१० ठाउँमा डुवानको जोखिम देखिएको छ । प्रभावका दृष्टिले वडा नंं १६ सबैभन्दा धेरै प्रभावित देखिन्छ । सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाहरुले यस वडामा करिब १ हजार ६ सय परिवार प्रभावित हुने देखिन्छ । वडा नं. २६ मा १ हजार २५५ घरधुरी, ६ ठाउँमा डुवान हुने स्थान पहिचान गरिएको वडा नं. ३ मा ९५० परिवार प्रभावित, १० ठाउँ डुवानमा पर्ने वडा नं. ४ मा ९५५ घरधुरी प्रभावित हुने देखिएको छ । यही अवस्थाका आधारमा निर्माण गरिएको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायत आकस्मिक सेवा लिनु पर्ने क्षेत्र र अधिकारीका टेलिफोन नम्बरहरु राखिएका छन् । स्रोत र उपकरणहरुको विवरण उल्लेख गरिएको छ । जोखिम घटाउन, घटना भए उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि महानगरपालिकाका ११ वटा विभागका जिम्मेवारी कार्ययोजनामा तोकिएका छन् । विपदका समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन् । गत वर्षहरुको अविरल बर्षाका कारण सहरी जीवनमा उत्पन्न भएको बाढी र डुवानजन्य जोखिम फेरि नदोहोरियोस् भन्नेमा सचेत भएर महानगरपालिकाले जोखिम न्यूनीकरणका लागि नदी सरसफाइ, डुवान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । नदी तथा नदी किनारा, ढल प्रणाली, सतह ढल प्रणाली, सडक किनारामा भएका स्ल्याब, ह्युम पाइप, क्याचपिट र मेल होल खोलेर त्यहाँ जम्मा भएको फोहर निकाल्ने कामका लागि दैनिक ३० जना जनशक्तिले काम गरिरहेका छन् । ढलमा भएको अवरोध हटाएर ढल र सतह पानीको प्रवाहलाई नियमित गर्नु कार्यक्रमको मुख्य क्रियाकलाप हो । ढलको जल प्रवाहमा अवरोध हटेपछि सम्भावित डुवान र वाढीको जोखिम कम हुनेछ ।

५- पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट महोत्सव शनिबारदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले बालबालिकामा सानै उमेरदेखि खेलकुद गतिविधिमा सक्रिय सहभागिता गराउन सके मात्र खेल जीवनको बलियो आधार तयार हुने बताए । उनले सफल खेल जीवनको जग बाल्यकालदेखि निरन्तर अभ्यास र सहभागिताबाट बन्ने उल्लेख गर्दै पोखरा महानगरपालिकाले सबै उमेर समूहलाई लक्षित गरेर विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । खेलकुदलाई उहाँले शारीरिक तन्दुरुस्ती मात्र नभई स्वास्थ्य, सामूहिक भावना र सामाजिक एकताको माध्यमका रूपमा व्याख्या गरे । महोत्सव असार २ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा कराँते, जुडो, टेबल टेनिस, साइक्लिङ, जिम्न्यास्टिक, हक्की, ह्विलचियर बास्केटबल, बोसिया, दृष्टिविहीन क्रिकेट र बौद्धिक अपाङ्गता दौड लगायतका प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । समितिका सचिव बज्र अधिकारीका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समुन्नत पोखराका लागि खेलकुद’ भन्ने नारासहित सुरु भएको महोत्सवमा सयौँ खेलाडीहरूको सहभागिता रहेको छ ।

६- इरानले होर्मुज जलडमरूको सञ्चालन अब पहिले जस्तो नहुने संकेत दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग मिलेर होर्मुज जलडमरूबारे छिट्टै संयुक्त घोषणा जारी हुने बताएका हुन् । अराघचीका अनुसार अमेरिकासँग सम्भावित सम्झौता पछि होर्मुज जलडमरूमा जहाज आवतजावतका नियमहरू परिवर्तन हुन सक्नेछन् । उनका अनुसार अब यस क्षेत्रमा नयाँ व्यवस्था लागू गर्ने तयारी भइरहेको छ । उनले स्पष्ट गर्दै इरानले जहाजबाट कर नउठाउने तर केही सेवाको बदलामा शुल्क लिन सकिने बताएका छन् । यो अभिव्यक्ति यस्तो समयमा आएको हो, जब अमेरिका र इरानबीचको सम्भावित सम्झौता अन्तिम चरणमा पुगेको बताइँदैछ । यसैबीच इरानको संसदअन्तर्गत राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले होर्मुज जलडमरू व्यवस्थापनका लागि नयाँ कानुनको तयारी भइरहेको जानकारी दिएका छन् । उक्त कानुनमा यस जलमार्गबाट गुड्ने जहाजका नियम र इरानी जनताको अधिकारसँग सम्बन्धित प्रावधान समेटिनेछ । अजीजीका अनुसार संसदले यो विधेयक पारित गरेपछि यो दीर्घकालीन र व्यापक कानुन बन्नेछ । उनले यस पहललाई इरानको तेल उद्योगको राष्ट्रियकरणसँग तुलना गर्दै यसलाई ऐतिहासिक निर्णयका रूपमा लिन सकिने बताएका छन् ।

७- काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति शनिबार गठन गरिएको हो । बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य-तथ्य छानबिन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।

८- भारतको असम राज्यको जोरहाटमा भएको भारतीय वायु सेनाको एएन–३२ विमान दुर्घटनामा पाँच जना सैनिकको मृत्यु भएको छ । भारतीय वायु सेनाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूको बलिदानलाई सम्मान गरेको छ । वायु सेनाका अनुसार स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमले ड्युटीको क्रममा ज्यान गुमाएका हुन् । शनिबार जोरहाट एयरफोर्स स्टेशनमा अवतरण गर्ने क्रममा एएन–३२ मालवाहक विमान अचानक आगोको चपेटामा परेको थियो । अवतरणलगत्तै विमानमा आगो लागेपछि एयरबेसमा भागदौड मच्चिएको थियो । प्रारम्भिक जानकारी अनुसार विमान रनवेमा अवतरण गरेपछि अचानक आगो लागेर ठूलो धुवाँ निस्किएको थियो । त्यसपछि तत्कालै दमकल र उद्धार टोली घटनास्थलमा पुगेका थिए र आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन ‘जाँच समिति’ गठन गर्ने निर्णय गरेको छ । वायु सेनाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

९- ब्राजिलका स्टार फरवार्ड नेइमार चोटका कारण मोरक्कोविरुद्धको विश्वकपको पहिलो खेलमा मैदान उत्रन नसक्ने भएका छन् । मुख्य प्रशिक्षक कार्लो आन्सेलोटीले नेइमार अझै पूर्ण रूपमा फिट नभएको पुष्टि गर्दै उनी टोलीसँग प्रशिक्षणमा फर्किन केही समय लाग्ने बताएका हुन् । ब्राजिलले विश्वकप अभियानको सुरुआती खेल भोली बिहान ३.४५ बजेदेखि मोरक्कोसँग गर्दैछ। तर टोलीका सर्वाधिक गोलकर्ता नेइमार चोटका कारण उपलब्ध नहुने भएका हुन् । सान्तोसका खेलाडी नेइमार प्रतियोगिताअघि सुरु भएको राष्ट्रिय टोलीको प्रशिक्षण शिविरदेखि नै टोलीबाहिर छन् । समर्थकहरूले उद्घाटन खेलअघि नेइमार फिट हुने अपेक्षा गरेका थिए । तर मोरक्कोविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा आन्सेलोटीले त्यस सम्भावनालाई समाप्त पार्दै उनी खेल्न तयार नरहेको स्पष्ट पारे । ब्राजिलले अब समूह चरणको सबैभन्दा कठिन चुनौतीमध्ये एक मानिएको मोरक्कोविरुद्धको खेल आफ्ना अनुभवी खेलाडीबिनै खेल्नुपर्ने भएको छ । चिकित्सकहरूले नेइमारको चोटलाई दोस्रो तहको पिण्डुला मांसपेशीको समस्या भएको बताएका छन् । त्यसैले उनी हाल व्यक्तिगत पुनर्स्थापना कार्यक्रमअन्तर्गत उपचार गरिरहेका छन् । आन्सेलोटीले नेइमारको अवस्थाबारे जानकारी दिँदै भने- ‘नेइमार सकेसम्म छिटो निको हुन निकै मेहनत गरिरहेका छन् । अर्को साता उनी टोलीको सामूहिक प्रशिक्षणमा फर्किन सक्ने अपेक्षा गरेका छौँ ।’ उनले थपे- ‘हामीले नेइमारलाई केवल उनको उत्कृष्ट खेल क्षमताका कारण मात्र टोलीमा समावेश गरेका होइनौँ । युवा खेलाडीहरूका लागि उनको अनुभव र नेतृत्व पनि उत्तिकै महत्वपूर्ण छ ।’ यद्यपि ब्राजिलले नेयमारको पुनरागमनबारे आशावादी दृष्टिकोण राखे पनि उनको अनुपस्थिति मोरक्कोविरुद्धको खेलमा मात्र सीमित नहुन सक्ने चिन्ता बढिरहेको छ । प्रारम्भिक चिकित्सकीय मूल्याङ्कनअनुसार उनलाई पूर्ण रूपमा निको हुन दुईदेखि तीन सातासम्म लाग्न सक्ने बताइएको थियो । यसले उनलाई जुन २० मा हुने हैटीविरुद्धको दोस्रो समूह चरणको खेलसम्म फर्कने सम्भावना दिएको छ । तर लामो समय मैदानबाहिर रहँदा खेल लयमा फर्किने विषय ब्राजिलका प्रशिक्षक र चिकित्सा टोलीका लागि मुख्य चिन्ताको विषय बनेको छ । नेइमारले मे १७ यता कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् । साथै उनको विगतमा पटक–पटक चोट दोहोरिने इतिहास भएकाले टोली व्यवस्थापन हतारमा मैदानमा फर्काउने पक्षमा छैन । यस कारण समूह चरणमा नेइमारको भूमिका अझै अनिश्चित बनेको छ। ब्राजिलले प्रतियोगिताको सुरुआती चरण आफ्ना सबैभन्दा अनुभवी खेलाडीमध्ये एकबिनै पार गर्नुपर्ने अवस्था आएको छ भने चिकित्सा टोलीले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी गरिरहेको छ। ब्राजिलको प्राथमिकता प्रतियोगिताको पछिल्लो चरणका लागि नेइमारलाई पूर्ण रूपमा फिट बनाउने रहेको देखिन्छ । उनी हैटीविरुद्धको खेलमै फर्किनेछन् वा त्यसपछि मात्र मैदानमा उत्रनेछन् भन्ने विषय अहिले ब्राजिलका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ ।

१०- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानले भोगिरहेको समस्याप्रति राज्य गम्भीर नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जंगली जनावरले कृषि बाली नष्ट गरेपछि किसानहरू पीडित बनेको अवस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन् । किसानहरूले बालीमा भएको क्षति देखाउँदै आक्रोश र पीडा व्यक्त गरिरहेका दृश्यले सबैलाई भावुक बनाइरहेको भए पनि राज्यका निकायहरू अन्तर्राष्ट्रिय सम्झौता र कानुनी व्यवस्थाका कारण समस्याबाट विमुख भइरहेको उनको भनाइ छ । पोखरेलले अन्तर्राष्ट्रिय सम्झौता र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट विस्थापित गर्न नहुने बताएका छन्। बाँदर, बँदेल र दुम्सीको आतंकका कारण कृषिमा निर्भर किसानहरू विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले प्रकृति र मानवबीच सन्तुलन आवश्यक भए पनि त्यसका नाममा मानिसको उठिबास लाग्ने अवस्था स्वीकार्य नहुने बताएका छन् । उनले अब ढिलाइ नगरी सर्वदलीय बैठक बोलाएर यस विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता औँल्याउदै संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने र आवश्यक परे संरक्षण क्षेत्र विस्तार गर्न सकिने उनको धारणा छ । तर कृषियोग्य क्षेत्रका लागि छुट्टै नीति आवश्यक रहेको बताउँदै उनले कृषि उत्पादन र किसान दुवैको संरक्षण हुने गरी नीति तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पोखरेलले किसानका समस्या समाधानका लागि ठोस कदम चाल्न अब धेरै ढिला भइसकेको समेत उल्लेख गरेका छन् ।

११- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ११९ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ९ जनाको मृत्यु भएको छ भने मधेश र कर्णालीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा ११९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना, कोशी प्रदेशमा ३१ जना घाइते भएका छन् भने काठमाडौँमा २० जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ३३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा १ जना घाइते भएका छन् भने लुम्बिनीमा ६ जना घाइते भएका छन् । त्यसैगरी कर्णाली प्रदेशमा ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

१२- सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको बोर्ड सदस्यमा सरकारले गरेको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार संक्षिप्त आदेश जारी गर्दै निगमको सञ्चालक सदस्य नियुक्ति प्रक्रियामा सुशासनको मूल्य र मान्यताविपरीत भएको ठहर गर्दै योग्यताक्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेशसमेत जारी गरेको हो । सर्वोच्चको आदेशमा अब छनोट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसारका उम्मेदवारहरूलाई सुशासनको मूल्य एवं मान्यताविपरीत नहुने गरी, स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयले निगमको समिति सदस्यमा डा. दीपकप्रसाद बाँस्तोला, प्रवीण भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गरेको थियो । छनोट समितिको गोप्य सिलबन्दी मूल्यांकनमा काठमाडौं महानगरपालिका– ३१ बस्ने निवेदक उपेन्द्रबहादुर कार्की ३६.६२५ अंक प्राप्त गरी योग्यताक्रमको पहिलो नम्बरमा रहेका थिए । तर, तत्कालीन मन्त्रीस्तरको निर्णयबाट योग्यताक्रमको पहिलो नम्बरमा रहेका कार्कीलाई पाखा लगाउँदै योग्यताक्रमको क्रमशः २, ३, ४ र ६ नम्बरमा रहेका उम्मेदवारहरू तथा महिला उम्मेदवार मध्येबाट नियुक्ति गरिएको थियो । पहिलो नम्बरमा रहेका व्यक्तिलाई नियुक्त नगरेको ठोस आधार र कारण निर्णयमा खुलाइएको थिएन । त्यसपछि कार्कीले नै आफू उक्त प्रक्रियामा सहभागी भई उत्कृष्ट प्रस्तुतीकरण गरे तापनि योग्यताक्रमलाई मिचेर गैरकानुनी रूपमा अन्य व्यक्तिहरूलाई छनोट गरिएको दाबीसहित रिट दायर गरेका थिए ।

१३- अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार भइसकेको दाबी गरिएको छ । अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश सम्झौताको शर्तमा सहमत भइसकेको र अब त्यसको कार्यान्वयनका लागि अर्को चरणमा काम भइरहेको दाबी गरेका हुन् । उनका अनुसार शान्ति सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको छ । तर अर्कोतर्फ अमेरिकाले इरानलाई तत्काल कुनै आर्थिक राहत दिइने भन्ने समाचारलाई अस्वीकार गरेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौतामा हस्ताक्षर गर्ने वा वार्तामा सहभागी हुने मात्र आधारमा इरानलाई कुनै आर्थिक लाभ नदिइने स्पष्ट पारेका छन् । यसअघि विभिन्न रिपोर्टमा सम्झौताअन्तर्गत इरानका रोक्का भएका कोष फुकुवा हुन सक्ने दाबी गरिएको थियो । तर अमेरिकी पक्षले भने इरानले सम्झौताको शर्त पूरा गरेपछि मात्र आर्थिक लाभको विषय अघि बढ्ने जनाएको छ । यता इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरू फेरि खोलिने बताएका छन्, तर अवस्था पहिले जस्तो नहुने स्पष्ट पारेका छन् । उनका अनुसार इरानले उक्त महत्वपूर्ण समुद्री मार्गमा आफ्नो नियन्त्रण कायम राख्नेछ र भविष्यमा यहाँबाट गुड्ने जहाजबाट कर पनि लिन सक्नेछ । सम्भावित शान्ति सम्झौता अन्तिम चरणमा पुगेको भनिए पनि तेहरानमा यसको कार्यान्वयनका लागि लामो स्वीकृति प्रक्रिया पार गर्नुपर्नेछ । रिपोर्टअनुसार मस्यौदालाई पहिले इरानी सेना मुख्यालय र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको सहमति आवश्यक हुनेछ । त्यसपछि संसद र राजनीतिक नेतृत्वले समीक्षा गर्नेछन् । अन्तिम निर्णय भने इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई र राष्ट्रिय सुरक्षासँग सम्बन्धित उच्च नेतृत्वको हातमा हुनेछ । उनीहरूको स्वीकृति पाएपछि मात्र सम्झौता औपचारिक रूपमा स्वीकार हुने इरानी मिडियाले उल्लेख गरेका छन् । यसै कारण विदेशमन्त्री अराघचीले सम्झौता नजिक पुगेको दाबी गरे पनि तेहरानले अहिलेसम्म कुनै औपचारिक पुष्टि गरेको छैन । अराघचीले अमेरिका र इरानबीच प्रस्तावित अन्तरिम समझदारीपत्रमा हस्ताक्षर नभएसम्म आणविक विषयमा कुनै नयाँ वार्ता नहुने स्पष्ट गरेका छन् । सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले समुद्री नाकाबन्दी पूर्ण रूपमा हटाउनु नै प्रारम्भिक सम्झौताको पहिलो शर्त भएको बताए । उनले भने- ‘यो सम्झौताका विरोधी पनि छन्, सबैभन्दा ठूलो विरोधी इजरायल हो, जसले यसलाई असफल बनाउन बहाना खोजिरहेको छ ।’ उनका अनुसार सम्झौता भएमा सुरुमा अनलाइन माध्यमबाट हस्ताक्षर हुनेछ र दुवै पक्षले आ–आफ्नो स्थानबाट दस्तावेजमा हस्ताक्षर गर्नेछन्। त्यसपछि संयुक्त रूपमा घोषणा गरिनेछ । अराघचीले अन्तिम चरणको वार्ता पूरा भएलगत्तै सम्झौतामा हस्ताक्षर हुन सक्ने र यो केही दिनभित्रै सम्भव हुने बताएका छन्। उनले आफूहरू यसप्रति आशावादी रहेको पनि उल्लेख गरेका छन्।

१४- चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराती महोत्तरीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा दिएको चेक बाउन्स (चेक अनादर) भएको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउपछि साहलाई आवश्यक कानुनी प्रक्रियाका लागि काठमाडौं ल्याउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

१५- फिफा विश्वकपको सह-आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । घरेलु मैदानमा अमेरिकाले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । अमेरिकाको जितमा फ्लोरान बालोगनले २ गोल गरे भने गिओभानी रेयनाले एक गोल गरेका थिए । त्यस्तै एक गोल पराग्वेका डामियान बोडाडिल्लाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि एक गोल माउरिसियोले गरेका थिए । समुह डी मा यो जितसहित अमेरिकाले विश्वकपको उत्कृष्ट शुरुवात गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । अब अमेरिकाले अर्को खेल जुन २० मा अस्ट्रेलिया र जुन २६ मा टर्कीसँग खेल्ने तालिका छन् । त्यस्तै पराग्वेले जुन २० मा टर्कीसँग र जुन २६ मा अस्ट्रेलियासँग खेल्ने छ ।

१६- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । साधारणसभाले बाट डाँगीलाई संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनाएको हो । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भए । महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ भने सचिवहरू कृष्ण प्रसाद घिमिरे, कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका छन् । खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

१७- कर्मचारी संगठन (ट्रेड युनियन) खारेजीसम्बन्धी सरकारी निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेपछि अब सरकार निर्णय कार्यान्वयन गर्न बाटो खुलेको हो । संवैधानिक इजलासको बहुमत निर्णयअनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरिएको छ । इजलासमा प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहभागी थिए । निर्णयमा प्रधानन्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । यसअघि बैशाख २० र २७ गते भएको बहसपछि वैशाख २८ मा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको थियो । तर, शुक्रबारको निर्णयसँगै उक्त आदेश निष्क्रिय भएको छ । तीनै न्यायाधीशले अध्यादेशको संवैधानिकता परीक्षण सम्बन्धमा अन्य रिटसमेत विचाराधीन भएका कारण सबैको एकसाथ सुनुवाइ हुने गरी साथै राख्न आदेश गरेका छन् । इजलासले मुद्दामा थप निष्पक्ष बहसका लागि एमिकस क्युरी (अदालतको सहयोगी) झिकाउन पनि आदेश दिएको छ । साथै, नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनमार्फत दुई–दुईजना एमिकस क्युरी उपस्थित गराउन आग्रह गरिएको छ । गत वैशाख २५ मा नेपाल निजामती संगठन केन्द्रीय कार्यसमितिका तर्फबाट भवानी दाहालसमेत पाँचजनाले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० मा निजामती सेवा ऐनमा रहेको निजामती कर्मचारीको ट्रेड युनियन र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको विषय हटाइएको थियो । वैशाख २० गते जारी अध्यादेशअनुसार वैशाख २२ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्ने भनी सूचना निकालेको थियो ।

१८- सह–आयोजक क्यानडाले सन् २०२६ को विश्वकप फुटबल अभियान बराबरीबाट सुरु गरेको छ । समूह चरणअन्तर्गत शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको हो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया–हर्जेगोभिनालाई अग्रता दिलाएका थिए । इभान बासिचको कर्नर प्रहारमा सियाद कोलासिनाचले हेडमार्फत बल अघि बढाएपछि लुकिचले हेडरमार्फत जाली चुमाएका हुन् । यो उनको राष्ट्रिय टोलीका लागि पहिलो गोल पनि बन्यो । पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा लगातार दबाब बनायो । रिची लारियाको प्रहार गोलतर्फ जाँदै गर्दा कोलासिनाचले उत्कृष्ट बचाउ गर्दै बललाई क्रसबारमा ठोक्काएर बाहिर पठाएका थिए । त्यसपछि तानी ओलुवासेयीको हेडर पनि निकोला काटिचले गोलरेखाबाट फर्काएका थिए । घरेलु समर्थकमाझ खेलिरहेको क्यानडाले अन्ततः ७८औँ मिनेटमा बराबरी गोल फेला पार्यो । मैदान प्रवेश गरेको दुई मिनेटभन्दा केही बढी समयमै वैकल्पिक खेलाडी काइल लारिनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरेका हुन् । उनले तारिक मुहारेमोभिचलाई छलाउँदै गरेको प्रहार निकोला भासिल्जलाई पार गर्दै जालीमा पुगेको थियो । बल विपक्षी खेलाडीमा हल्का ठोक्किँदा गोलरक्षक झुक्किएका थिए । खेलभरि दुवै टोलीले आक्रमणात्मक प्रदर्शन गरेकाले खेल निकै रोमाञ्चक बनेको थियो । अन्ततः दुवै टोलीले एक–एक अंक बाँडेका छन् । यो नतिजासँगै क्यानडाले विश्वकपको अन्तिम चरणमा पहिलो पटक हार टार्न सफल भएको छ । यसअघि सन् १९८६ मा खेलेका तीनै खेल तथा सन् २०२२ मा खेलेका सबै खेलमा क्यानडा पराजित भएको थियो ।

१९- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२’ कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद् बैठकको उक्त निर्देशन लगत्तै मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो । ​गृह मन्त्रालयका उपसचिव, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुखहरू, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य–सचिव रहने गरी समिति गठन गरिएको हो । ​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलका अनुसार उक्त समितिले चाँडो भन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ । ‘वर्षौँदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्रिपरिषद्को निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको छ,’ उनले भनिन्. ‘अब सबै सरोकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ ।’

२०- अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको सेयर बजारमा पहिलो कारोबारकै दिन उल्लेखनीय वृद्धि हासिल गरेको छ । यससँगै कम्पनीको बजार मूल्य २ खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ भने संस्थापक एलन मस्क विश्वकै पहिलो खरबपति बन्न सफल भएका छन् । कम्पनीको सेयर प्रतिकित्ता १५० अमेरिकी डलरमा कारोबार सुरु भएको थियो । कारोबारका क्रममा सेयर मूल्य बढेर १७६.५२ अमेरिकी डलरसम्म पुगेको थियो । दिनको अन्त्यमा भने सेयर १६१.११ अमेरिकी डलरमा बन्द भएको थियो । प्रारम्भिक सार्वजनिक निष्कासनको लक्ष्य मूल्य १३५ अमेरिकी डलरको तुलनामा सेयर मूल्य १९.३४ प्रतिशतले बढेको हो । विश्लेषकहरूका अनुसार सेयर मूल्यमा भएको मजबुत वृद्धि, सीमित उतारचढाव तथा खुद्रा लगानीकर्ताबाट प्राप्त उच्च मागका कारण कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सफल भएको मानिएको छ। यस उपलब्धिसँगै स्पेसएक्स संयुक्त राज्य अमेरिकाको छैटौँ सबैभन्दा ठूलो सार्वजनिक कम्पनी बनेको छ । कर्भ इन्भेस्टमेन्ट म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हावार्ड चानले सेयरप्रति सुरुदेखिको माग हेर्दा यही परिणाम अपेक्षित रहेको बताएका छन् । उक्त कम्पनीले जुन महिनाभित्र स्पेसएक्समा लगानी गर्ने विनिमय कारोबार कोष सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भिस्टाशेयर्सका लगानी विभाग प्रमुख डेभिड फेदरस्टनहाउले पनि बजारको प्रतिक्रिया अपेक्षाअनुसार नै रहेको टिप्पणी गरेका छन् । शुक्रबार समग्र शेयर बजार पनि सामान्य रूपमा उकालो लागेको थियो । एस एन्ड पी पाँच सय सूचकांक ०.५ प्रतिशतले बढ्दा प्रविधि कम्पनीहरू केन्द्रित नास्डाक कम्पोजिट सूचकांक ०.३१ प्रतिशतले उकालो लागेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस