वैशाख ३०, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन्।

यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयका अनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू पनि पेश हुनेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि थप छलफल अघि बढाइनेछ।
नीति तथा कार्यक्रममाथि पछिल्ला दिनमा संसद्मा तीखा टिप्पणी र आलोचना भइरहेका छन्। विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैली, संसदीय मर्यादा, सीमा सुरक्षा, सुशासन र आर्थिक नीतिका विषयमा प्रश्न उठाउँदै आएका छन्। प्रधानमन्त्री शाहको आजको सम्बोधनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। संसद्मा उठेका आलोचना र प्रश्नबारे उनले के जवाफ दिन्छन् भन्ने विषय अहिले मुख्य चर्चाको केन्द्र बनेको छ।