असोज २६, काठमाडौं । पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ ।
पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र परेको हो । ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन । तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ ।

मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल–भारत (सिक्किम) सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।
विसं २०७७ माघ १९ तीन चरणमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएकामा कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक शिवरामप्रसाद देवका अनुसार तीन चरणमा क्रमशः १६, १७ र अर्का पनि किलोमिटर रहेको छ ।
पहिलो प्याकेज उद्गम विन्दु चिवाभञ्ज्याङबाट सुरु हुन्छ । रु ५३ करोड १७ लाखमा रोशन–शिवशक्ति जेभीले ठेक्का लिएको यस प्याकेजको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ ।
यस प्याकेजमा चार पटक म्याद थप भइसकेको र अन्तिम पटक थपिएको म्यादअनुसार आगामी जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । तर उच्च पहाडी क्षेत्र भएका कारण यहाँ वर्षायाममा अत्यधिक वर्षा हुने तथा हिउँदमा चिसोले काम गर्न नसकिने भएकाले निर्माण कार्य निर्धारित अवधिमा पूरा हुनसक्ने अवस्था छैन ।
यद्यपि यहाँ पछिल्लो समय मुख्य निर्माण कम्पनीले नै सडक मर्मत सम्भारको कार्य गरिरहेको प्राविधिक देवले बताउनुभयो । करिब १७ किलोमिटर, दोस्रो प्याकेजको भने गत असार ११ गते ठेक्का सम्झौता तोडिएको छ ।
नयाँ ठेक्का लाग्ने निश्चित नहुँदा सडक अलपत्र अवस्थामा छ । सन्तोषी शिवशक्ति जेभीले रु ४६ करोड ४६ लाखमा ठेक्का लिएको यो प्याकेजको भौतिक प्रगति केवल १६ प्रतिशतमा सीमित भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमले ठेक्का तोडेको थियो ।
तीन पटक म्याद थप भएको यस प्याकेजमा गत वर्षको पुष मसान्तमा ठेक्का अवधि समाप्त भएको थियो । तर निर्माण कम्पनीले ठेक्का सम्झौता तोड्ने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत विराटनगर इलाम इजलासमा रिट दायर गरेको थियो ।
इलाम इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै ठेक्का सम्झौतासम्बन्धी सक्कली कागजात पेस गर्न आदेश दिएको देवले बताउनुभयो । अदालती प्रक्रियापश्चात् ठेक्का लगाउन समय लाग्ने हुँदा यस प्याकेजको भविष्य अझै अनिश्चित छ ।
याङवरक–४ दारिम्बादेखि सुरु हुने तेश्रो प्याकेजमा पनि पाँच पटक म्याद थप भइसकेको छ । करिब १७ किलोमिटरको यो प्याकेज सबैभन्दा सहज स्थानमा रहेको छ । रु ४६ करोड ३६ लाखमा रोशन–शिवशक्ति जेभीले ठेक्का लिएको यो प्याकेजमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।
गत वैशाखमै ठेक्का सम्झौताको अवधि पूरा भएको भए पनि सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले ५० प्रतिशतभन्दा बढी प्रगति भएका ठेक्का नतोड्ने व्यवस्था गरेकाले निर्माण कम्पनीलाई ताकेता गरेर निर्माण कार्यमा लाग्न प्रेरित गरिएको छ ।
यस प्याकेजको ठेक्का सम्झौता अवधि थप गर्नेवारे अध्ययन भइरहेको कार्यालयले जनाएको छ । मध्यपहाडी राजमार्गको उद्गम खण्डमा कालोपत्रेको कार्य अनिश्चित भएपछि यस क्षेत्रका बासिन्दाले पटक–पटक स्थानीय प्रशासन, तालुकदार निकाय तथा सरकारी अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।
याङवरक–१ च्याङथापुका नरबहादुर गुरुङले भन्नुभयो, “चार वर्षअघि नै सम्पन्न हुनुपर्ने कालोपत्र अझैसम्म अनिश्चित हुँदा यस भेगका वासिन्दाले धेरै समस्या झेलिरहेका छौँ । अझै पनि कालोपत्र हुने हो कि होइन, निश्चित छैन ।” सडक कालोपत्रको काम धमाधम अगाडि नबढ्ने र बर्सेनि बाढी पहिरोले सुस्त गतिमा भइरहेको कार्यमा क्षति पु¥याउने गरेको छ ।
“धमाधम कालोपत्रको काम नभएपछि अलिअलि गरेको काम पनि बाढी पहिरोले क्षतिग्रस्त बनाइदिँदा सडक निर्माण कार्यले गति लिन सकेको छैन”, याङवरक–१ का तेजेन्द्र राईले भन्नुभयो, “सरकारी निकायले कडाइका साथ ठेकेदारलाई काममा लगाउनु प¥यो ।”
यही खण्डमा पर्ने याङवरक गाउँपालिका–२ स्थित मेवा खोलाको दोभाने बाढीले नियमित रुपमा सडक अवरुद्ध हुँदा समेत कालोपत्रको कामलाई अवरोध गरिरहेको छ । निर्माण कम्पनीले सुरुआतदेखि नै निर्माण कार्यमा पर्याप्त स्रोतसाधन र जनशक्तिको परिचालन गर्न नसक्दा यस सडकको भविष्यप्रति नै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राई निर्माण कम्पनीको लापरवाहीका कारण समयमा सडक कालोपत्र हुन नसक्दा यस क्षेत्रका नागरिकले सास्ती खेप्नुपरेको बताउनुहुन्छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिमका प्राविधिक देवका अनुसार सुरुआतमा निर्माण कार्यमा पर्याप्त जनशक्ति, यन्त्र उपकरण तथा स्रोतसाधनको प्रयोग नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन । तर पछिल्ला वर्षहरुमा अत्यधिक वर्षा, बाढी पहिरोलगायत कारणले अवरोध आउँदा कालोपत्र निर्माण कार्यले गति लिन नसकेको देवको भनाइ छ ।