असोज २६, काठमाडौं । वीरगञ्जको नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन हुनुभएको छ । प्रतिष्ठानको वार्षिक साधारणसभाले सचिवको जिम्मेवारीमा रहनुभएका गौतमलाई अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानका अध्यक्ष डा विशम्भरकुमार शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभाले कार्यसमितिको उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अली अन्सारी चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुन दयाल श्रीकृष्ण र देवराज खरेल चयन हुनुभएको छ । सोही अवसरमा प्रतिष्ठानका संस्थापक एवं वरिष्ठ सल्लाहकार जगदीश शर्माले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै संस्थाको प्रतिष्ठा अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले व्यावसायिक सहरका रूपमा परिचित वीरगञ्जको साहित्यिक पृष्ठभूमिको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष गौतमले अग्रजको सम्मान गर्दै उनीहरूका सल्लाह र सुझावलाई आत्मसात् गरी सहकर्मीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
