• २०८३ भाद्र २७ गते शनिवार

वर्षाले बिगारेको बाटो मर्मतमा जुट्यो धनगढी–३ वडा कार्यालय, वडाध्यक्ष ऐरसहित जनप्रतिनिधि सडकमा

लोकराज जोशी पढ्न लाग्ने समय : २ मिनेट

भदौ २७, धनगढी । लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका–३ स्थित दिपेन्द्र प्रहरी आवासीय माध्यमिक विद्यालय जाने बाटो हिलाम्मे तथा बिग्रिएर आवतजावतमा समस्या भएपछि वडा कार्यालयले बाटो सम्याउने तथा मर्मत गर्ने काम थालेको छ। वर्षाका कारण सडकमा पानी जम्नुका साथै हिलो र खाल्डाखुल्डी बढेपछि स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई निकै असहज भइरहेको थियो। बाटोको अवस्थाका कारण विद्यालय आउने–जाने विद्यार्थीसमेत प्रभावित भएपछि वडा कार्यालयले तत्काल सडक सुधारलाई प्राथमिकता दिएको हो।

धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरको नेतृत्वमा वडाका सम्पूर्ण वडा सदस्यहरूको टोली नै सडकमा पुगेर बाटो सम्याउने तथा आवतजावत सहज बनाउने काममा जुटेको छ। जनप्रतिनिधिहरू आफैं फिल्डमा खटिएर सडकको अवस्था निरीक्षण गर्दै आवश्यक स्थानमा माटो तथा ग्राभेल व्यवस्थापन गरी बाटो सुधारको काम अघि बढाएका छन्।

वडाध्यक्ष ऐरसहित वडा सदस्यहरूको सक्रियतामा भइरहेको उक्त कामले वर्षाका कारण अस्तव्यस्त बनेको सडकमा तत्कालका लागि आवतजावत सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी विद्यालय क्षेत्र भएकाले विद्यार्थी तथा अभिभावकलाई आवतजावतमा राहत पुग्ने स्थानीयको विश्वास छ।

वडा कार्यालयले वर्षायाममा सडकमा देखिएका समस्या समाधान गर्न तत्कालीन रूपमा बाटो सम्याउने कामसँगै आवश्यकताअनुसार अन्य स्थानमा समेत सडक सुधार गर्ने जनाएको छ। जनप्रतिनिधिहरूले स्थानीयस्तरमा देखिएका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै जनताको दैनिक आवतजावत सहज बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

स्थानीय बासिन्दाले वर्षाका कारण बिग्रिएको बाटोमा तत्कालै जनप्रतिनिधिहरू स्वयं उपस्थित भएर सुधारको काम थालेको भन्दै वडा कार्यालयको पहलको प्रशंसा गरेका छन्। स्थानीयका अनुसार सडक सुधारपछि विद्यालय जाने विद्यार्थी, स्थानीय बासिन्दा तथा अन्य सर्वसाधारणलाई आवतजावतमा केही सहजता हुने भएको छ।

जनताको समस्या समाधानका लागि कार्यालयमा मात्र सीमित नभई फिल्डमै पुगेर काम गर्ने वडा नेतृत्वको सक्रियताले स्थानीय तहप्रति नागरिकको भरोसा थप बलियो बनाउने देखिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस